काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ता गर्न चाहे दर्ताका लागि तयार रहेको जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नयाँ दल दर्ताको प्रक्रियामा आए तयारी अवस्थामा रहेको बताए ।
“चुनावको मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न नपाइने भन्ने छैन । आए दर्ताका लागि आयोग तयारी अवस्थामा छ । दल दर्ता हुन्छ,” उनले भने ।
आगामी फागुन २१ गतेको निर्वाचनका विषयमा आयोगसँगको छलफलका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ दल दर्ताका लागि समस्या भए त्यसको गाँठो फुकाउन आग्रह गरेका थिए । “दल दर्तामा पनि केही समस्या छ कि खोजी गरौँ भनेका थियौँ । त्यसमा समस्या छैन भन्ने कुरा आएको छ । तर, कहिलेसम्म भन्ने कुरा निक्र्योल गर्नुपर्छ,” मन्त्री अर्यालले भने ।
उनले थप भने, “नयाँ दल दर्ता गर्दै हुनुहुन्छ भने बेलैमा सूचना दिनुपर्छ । उहाँहरूले यो समयभित्र गरिसक्नुपर्छ भनेर । ऐनमा समावेश गर्नुपर्छ भने अध्यादेशबाट संशोधन गरौंँ । निर्देशिकातिर अझ स्पष्ट गर्नुपर्ने हो भने बेलैमा सूचित गरौँ ।”
उनले चुनाव भाँड्नका लागि यस्ता कुरा कारक नबनोस् भन्नेमा सचेत गराएका थिए । “किन भने यस्ता कुराले अर्को विद्रोह जन्माउन पनि सक्छ । निर्वाचन विथोलिने कारण बनोस्,” अर्यालले भने ।
फागुन २१ मा तोकिएको निर्वाचनका लागि मतदाता नामावली संकलनको मिति थप गर्न अध्यादेश ल्याउँदै छ । मन्त्री अर्यालले जेनजीको मतदाता नामावलीमा नाम छुटाएर चुनावमा नजाने भन्दै अध्यादेशको तयारी भएको बताए ।








