पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको नारायणघाट-मुग्लिन सडक राति ९ बजेदेखि बन्द गरिने भएको छ।
जिल्ला सुरक्षा समिति चितवनको बैठकले सुक्खा पहिरोको जोखिम कायमै रहेकाले रातको समयमा सडक बन्द गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राति ९ बजेदेखि बिहान ५ बजेसम्म सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको बताए।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा पर्ने तुइनखोलामा शुक्रबार राति ७ बजे झरेको पहिरो पन्छाइएपछि आइतबार दिउँसो सवा २ बजे सडक एकतर्फी सञ्चालनमा आएको थियो।
४५ घण्टा सडक अवरुद्ध हुँदै हजारौंको संख्यामा यात्रुहरु सडकमै अलपत्र परेका थिए। अहिले सवारी साधनहरु गन्तव्यतर्फ गइरहेका छन्।








