गृहपृष्ठ Featured कपिलवस्तुमा बस पल्टिँदा १० घाइते, एकको अवस्था गम्भीर

कपिलवस्तुमा बस पल्टिँदा १० घाइते, एकको अवस्था गम्भीर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ उमरी चोकमा बुधवार बिहान साढे ५ बजे बस पल्टिँदा १० जना घाइते भएका छन्। काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस अनियन्त्रित भई विद्युत पोलमा ठक्कर खाएर पल्टिएको हो।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार बसमा सवार मुगुको खत्याड गाउँपालिका–७ की ५० वर्षीया राधिका शर्मा गम्भीर घाइते भएकी छन्। उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ। दुर्घटनामा राधिकाको छोरा २१ वर्षीय विकास शर्मा, अछाम कमल बजार नगरपालिका–५ का २७ वर्षीय शिवराज अधिकारी, बाँके बैजनाथ गाउँपालिका–१ का २६ वर्षीय विवेक खत्री घाइते भएका छन्। यस्तै, लमजुङ महेपालका ६४ वर्षीय पुण्यनिधि घिमिरे, दुर्गादेवी अधिकारी, दैलेख दुल्लु नगरपालिका–६ का तिलक खड्का, कालिकोट राजकोट नगरपालिकाकी सीता आचार्य, कास्कीको लेखनाथ नगरपालिकाका विजय रानाभाट र जाजरकोट भेरी नगरपालिका–३ का मदन थापा घाइते भएका छन्।

सामान्य घाइते भएका नौ जनाको चन्द्रौटामा उपचारपछि घर फर्किएका छन्। बस र चालक प्रहरी नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए। बाटोमा एक्कासि ट्रक आउँदा ब्रेक लगाउने क्रममा बस पोलमा ठोक्किएर पल्टिएको उनले बताए।

सम्बन्धित् समाचार