गृहपृष्ठ Featured कपिलवस्तुमा साढे ८ लाखको अवैध सामान प्रहरीको फन्दामा

कपिलवस्तुमा साढे ८ लाखको अवैध सामान प्रहरीको फन्दामा

कपिलवस्तु प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका फलफूलदेखि काठका सामाग्री, जुत्ता–चप्पल, टायल र नदीजन्य पदार्थसम्मलगायत करिब ८ लाख ५० हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

बरामद गरिएका सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले कृष्णनगर–२ झण्डेनगरमा भारतबाट चोरी पैठारी गरी ल्याइएका रु ३ लाख १८ हजार ७५० रुपैयाँका ४४ बोरा किवी बरामद गरी भन्सार कार्यालय कृष्णनगरमा बुझाएको छ।

त्यस्तै, कपिलवस्तु नगरपालिका–८ मैनिहवा तौलिहवा–पकडी सडकखण्डमा भारतीय मिनी ट्रकबाट राजस्व छली गरी ल्याइएको करिब ४ लाख ४१ हजार ६८० रुपैयाँबराबरको ३०० केजी सुन्तला फेला परेको छ। ट्रकसहित चालक भारत उत्तर प्रदेशका ४० वर्षीय दिल साहलाई नियन्त्रणमा लिएर आन्तरिक राजश्व कार्यालय बुटवलमा बुझाइएको प्रहरीले बताएको छ।

यसैगरी, बुद्धभूमि–९ गबदहवा खोलाबाट अवैध उत्खन भइरहेको अवस्थामा लु ४ त २२९९ नम्बरको ट्रयाक्टरसहित चालकलाई पक्राउ गरी नगरपालिका कार्यालयमा बुझाइएको छ। मायादेवी–४ चाकरचौडामा भारतबाट ल्याइएका मन्दिर आकारका १७५ पिस काठका सामग्री (रु ३५ हजार बराबरको) पनि भन्सार कार्यालय सुठौलीमा पठाइएको छ।

त्यस्तै, महाराजगंज–१० हर्दौनामा भारतबाट ल्याइएका करिब रु ९० हजार ४२० बराबरका जुत्ता–चप्पल, चिनी, खाने तेललगायतका सामग्री र रु ३२ हजार बराबरका १६ वटा टायल बेवारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय बुझाइएको प्रहरीले बताएको छ।

डिएसपी सिंहका अनुसार भन्सार छली तथा चोरी पैठारी गर्नेविरुद्ध प्रहरीले कडाइका साथ कारबाही गरिरहेको र चेकजाँचलाई थप कडा बनाइएको छ।

सम्बन्धित् समाचार