गृहपृष्ठ Featured रियाललाई उछिन्दै शीर्ष स्थानमा बार्सिलोना

रियाललाई उछिन्दै शीर्ष स्थानमा बार्सिलोना

काठमाडौं ।

साविक विजेतासमेत रहेको बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले आइतबार राति भएको खेलमा रियाल सोसिडाडविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै शीर्ष स्थान हासिल गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जुलेस काउन्डे र रोबर्ट लेवान्डोवस्कीले गोल गरे । पाहुना टिमका अल्भारो ओड्रियोजोलाले गोल गरेका थिए ।

खेलको ३१औँ मिनेटमा ओड्रियोजोलाको गोलमा सोसिडाडले अग्रता बनाएको थियो । तर, ४३औँ मिनेटमा काउन्डेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमै खेलमा फर्कियो ।

यस्तै, ५९औँ मिनेटमा लेवान्डोवस्कीले निर्णायक गोल गरेपछि बार्सिलोनाले तीन अंक पक्का गरेको हो । जितसँगै सात खेलबाट १९ अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ । बार्सिलोनाले समान खेलबाट १८ अंक जोडेको रियाल मड्रिडलाई पछि पारेको हो ।

यसअघि शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडसँग ५–२ ले पराजित भएपछि रियालले तीन अंक गुमाएको थियो । यता, सात खेलबाट पाँच अंक जोडेको सोसिडाड भने तालिकाको १७औँ स्थानमा छ ।

सम्बन्धित् समाचार