सागर वि.क., वैखरी अनलाईन ।
भदौ २५ गते राति कपिलवस्तु जिल्ला कारागार, तौलिहवाबाट एकै पटक ठूलो संख्यामा कैदीबन्दी फरार भएपछि जिल्लामा सुरक्षातन्त्र उच्च सतर्क अवस्थामा आएको छ। उक्त घटनापछि हालसम्म २६३ जना फरार कैदीबन्दी पक्राउ परिसकेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ। तर अझै १६७ जना फरारकै अवस्थामा रहेकाले थप चुनौती कायम रहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङले वैखरीलाई जानकारी दिनुभयो।
प्रजिअका अनुसार फरार कैदीबन्दीलाई आगामी असोज २० गते सोमबारसम्म स्वेच्छाले कारागार फर्कन आग्रह गरिएको छ। तोकिएको म्यादभित्र नफर्किने व्यक्तिहरूमाथि कारागार ऐन, २०७३ लगायतका प्रचलित कानुन बमोजिम कडाईका साथ कारबाही हुने चेतावनी दिइएको छ।
यसै सन्दर्भमा जिल्ला कारागार कार्यालय, कपिलवस्तुले विशेष सूचना जारी गर्दै फरार कैदीबन्दीहरूलाई स्वेच्छाले फर्किन आग्रह गरेको छ। सूचनामा तोकिएको म्यादभित्र नफर्किए कानुनअनुसार थप कारबाही हुने उल्लेख गरिएको छ। साथै, फरार कैदीबन्दीलाई लुकाउने, सहयोग गर्ने वा आश्रय दिने जो कोहीलाई समेत कानुनअनुसार कारबाही हुने प्रष्ट पारिएको छ।
भदौ २५ गते कारागारबाट कैदीबन्दी फरार भएपछि तत्कालै सुरक्षाकर्मी परिचालन गरी खोजी अभियान सुरु गरिएको थियो। सो क्रममा करिब दुई सयभन्दा बढीलाई छोटो समयमा नियन्त्रणमा लिन प्रहरी सफल भए पनि बाँकी फरार भएका १६७ जनाको खोजी अझै जारी छ।
स्थानीयवासीलाई पनि कैदीबन्दीहरू देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी दिन आग्रह गरिएको छ। प्रहरीले हाल आसपासका नाका, सवारी साधन र विभिन्न आवासीय क्षेत्रमा निगरानी कडाइ गरेको छ।








