रेसुङ्गा (गुल्मी),असोज १७ गते ।
गुल्मीको सदरमुकाम तम्घास र मुख्यनाकामा १७ वटा सिसिटिभी क्यामेरा जडान गर्न स्थानीयले माग गरेका छन् । सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण उपकरण सिसिटिभी क्यामेरा बाख्रेछेडा र खानीगाउँ दोबाटोमा दुई दुईवटा सिसि क्यामेरा आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उदिनढुङ्गा, जिपपार्क र फिल्म हल, हस्पिटल लाइनमा दुई दुईवटा र गरिमा विकास बैंक क्षेत्रमा एउटा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो । सदरमुकाम तम्घासका मुख्यनाका देउराली, नेटा र बाघमारेमा दुई दुईवटा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
अहिलेसम्म २२ वटा सिसिटिभी क्यामेरा छन् । जिल्ला प्रशासन क्षेत्रमा चार तथा भगवती मन्दिर, बसपार्क, मिलनचोक, क्याम्पस रोड, र चिदिचुर रोडमा दुई दुईवटा क्यामेरा जडान गरिएको छ । खानीगाउँ, नयाँबजार, भिमचोक, भुतबङगाला, पुरानो बजार र अर्घाखाँची जिपपार्क क्षेत्रमा एक एकवटा क्यामेरा रहेका छन् ।
प्रहरी निरीक्षक थापाका अनुसार जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित दुई (क) दुई र (ख) बर्गका दुई दुईवटा इलाका प्रहरी कार्यालय रहेका छन् । हरीचौकी १६, अस्थायी प्रहरी चौकी पाँच र बिट सातवटा रहेका छन् । ती मध्ये आफ्नो भवनमा १२ र अरुको भवन तथा भाडामा २० प्रहरी कार्यालय रहेको थापाले बताउनुभयो ।










