अर्घाखाँची — निधारमा रातो टीका, घाँटीमा धजा वा जमराको माला । नयाँ पहिरनमा सयौँ मान्छेको भीडमा एउटा हातमा चमचम चम्कने खुँडा, तरबार, भाला र अर्को हतमा ढाल वा रुमाल । सुरुमा हतियार नचाएर अभिनय, त्यसपछि भट्टाउँदै ‘वाख्खै हो, वाख्खै हो’ भन्दै सनाई र बाजाको तालमा नाचगान ।
युद्धको जस्तो झल्को दिने सराय नाच दसैंको टीकापछि एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म कोतघर र कालिका मन्दिरमा सरायको रौनक सुरु भएको छ । अष्टमीका दिन कालरात्रि पूजा गरेसँगै शक्तिपीठमा सराय नाच सुरु गरिन्छ । शुक्रबार मालारानी गाउँपालिका–७ बामरुक, भूमिकास्थान नगरपालिका–५ असुरकोट लगायतका भगवती मन्दिरमा भव्य सराय नाच भएको छ । जहाँ बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म नाचगान गरेका छन् ।
रंगीचंगी ध्वजापतकाले सिंगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा लिइन्छ । लाइनमा रहेका सयौँ भक्तजन एक समूहले अर्को समूहलाई आक्रमण गरे जस्तो देखिने सराय नाच रमाइलो संस्कृतिको रूपमा लिइन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र दुर्गा भगवती तथा कालिका मन्दिरमा हतियार नचाएर सराय नाच्न थालिएको हो । यसरी नाच्दा देवी प्रसन्न हुने धार्मिक विश्वास गरिन्छ ।
बाइसेचौबिसे राज्य हुँदाताका भुरे राजाले आफ्नो कोतमा सराय नाच नचाउने गरेपछि नै सुरु भएको बुढापाका बताउँछन् । इतिहास अनुसार सराय नाचको सुरुवात अर्घा दरबारबाट भएको हो । मध्यकालमा अर्घा राज्यका जिल्ला राई राजाले सुरु गरेका थिए ।
संस्कृतविद् राजेन्द्रकुमार आचार्यका अनुसार मध्यकालमा वर्तमान अर्घाखाँची जिल्लाको तत्कालीन अर्घाराज्यमा राजा जिल्ला राईले आफूले अर्घाराज्य जितेको उपलक्ष्यमा विजयोत्सव स्वरूप विजया दशमीको कोजाग्रत पूर्णिमाका दिनमा सराय नाच नचाई, दहीकेरा र बक्सिस बाँड्न थालेका थिए । अर्घाको टाकुराबाट प्रचलनमा आएको सराय नाच अन्यत्र विस्तार भएको अर्घा भगवती मन्दिरका पुजारी धर्मराज पोखरेलले बताए ।
श्री अर्घा महाकाली भगवती मन्दिर तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार वि.स. १३८१ मा जिल्ला राई राजा भारतको दिल्लीबाट फौजसहित अर्घामा आएर बसे । साथमा उनले गीत गाउने गन्धर्व, पूजा गर्ने पुराोहित, लुगा सिलाउने परियार, हतियार बनाउने विश्वकर्मा र हतियारसहित फौज लिएर आएका थिए । त्यतिबेला अर्घामै गुरुङ राजा थिए । उनीसँग लडाई लडेर १७ मौजा कब्जा गरे । बडादसैँको पूर्णिमाको दिन विजयोत्सव स्वरूप सराय निकालेको इतिहास रहेको उनले बताए ।








