वैखरी अनलाईन, लुम्बिनी ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.१२ को प्रशासनिक भवनको विहिबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो।

नव–निर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख हरिजनले वडाको सुशासन, पारदर्शिता र जनसेवामा प्रभावकारिताको लागि यो भवन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नयाँ भवनले सेवाग्राहीलाई सहज र समयमै सेवा उपलब्ध गराउन मद्दत पुर्याउने बताउनुभयो । नगरपालिकाको प्रत्येक वडामा सेवा प्रवाहको गुणस्तर बढाउने नगरको लक्ष्य रहेको उहाँको भनाई छ ।
त्यसैगरी वडाध्यक्ष हरिकेश लोधले भवन निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “वडावासीकै सहभागिता र नगरपालिकाको सहयोगमा यो संरचना निर्माण सम्भव भएको हो। अब वडाको कामकाज अझ व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन हुनेछ।”
प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले भवनको प्रयोगसँगै प्रशासनिक कार्य दक्ष, प्रभावकारी र जनमैत्री हुने बताउनुभयो। उहाँका अनुसार सबै वडामा चरणबद्ध रूपमा यस्तो संरचना निर्माणका काम अघि बढाइने योजना रहेको छ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दा तथा सामाजिक अगुवाको सहभागिता रहेको थियो।








