गृहपृष्ठ Featured एकीकृत समाजवादी स्थायी कमिटीमा मागियो माधव नेपालको राजीनामा

एकीकृत समाजवादी स्थायी कमिटीमा मागियो माधव नेपालको राजीनामा

माओवादी केन्द्रसँग पार्टी एकताका लागि हतारिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी नेतृत्व छाड्न दलभित्रै दबाब बढेको छ।

बिहीबारको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, नेताहरू डा. विजय पौडेल, रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ लगायतका सात जनाले अध्यक्ष नेपालको राजीनामा मागेका हुन्।

एकीकृत समाजवादी स्थायी कमिटीका एक सदस्यले दिएको जानकारी अनुसार पार्टी पुनःगठनको पक्षमा उभिएको पक्षका नेताहरूले अध्यक्ष नेपालको राजीनामा माग गरेका हुन्।

‘उहाँहरूले अध्यक्षको राजीनामा माग गर्नुभएको छ,’ बैठकमा सहभागी ती नेताले भने, ‘अध्यक्षले राजीनामा गरेर पार्टी पुनःगठन गरौं भन्ने उहाँहरूको प्रस्ताव छ।’

बैठकमा सहभागी नेताहरूका अनुसार महासचिव भुसाल सहितका नेताहरूले जेनजी आन्दोलनले दलहरूका प्रमुख नेताहरूको नेतृत्व अस्वीकार गरेको र केहीले नेतृत्व छाडिसकेको भन्दै नेपाललाई पनि सोही बाटो अपनाउन भनेका थिए।

बाबुराम भट्टराईले अध्यक्ष त्यागेको, शेरबहादुर देउवाले कार्यवाहक दिएको,  प्रचण्डले केन्द्रीय कमिटी भंग गरेको अनि एमालेभित्र पनि केपी ओलीलाई नेतृत्व छाड्न दबाब बढेको सन्दर्भमा नेताहरूले नेपालले पनि मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए।

उनीहरूले पार्टी र  नेतृत्व पुनर्गठन गरेर जानुपर्ने र ‘जेनजी विद्रोह’ लाई सम्मान गर्नुपर्ने कुरा उठाएका हुन्।

‘आजको आवश्यकता एकता होइन, बरू पार्टी पुनर्गठन हो,’ उनीहरूको भनाइ थियो।

 

पछिल्लो समय एकीकृत समाजवादी अध्यक्ष नेपाल माओवादीसँग एकता गरेर जाने तयारीमा छन्। त्यसका लागि बेदुराम भुसाल नेतृत्वमा रहेको प्रमेश हमाल र प्रकाश ज्वाला सहितको वार्ता समितिले तयारी गरिरहेको छ। पछिल्लो सचिवालय बैठकले वार्तालाई छिटो निष्कर्षमा पुर्याउन म्यान्डेट दिएको थियो।

सचिवालयको त्यही बैठकमा पनि महासचिव घनश्याम भुसालले माओवादीसँग एकताका लागि हतारिनु जायज नहुने बताएका थिए।

‘म फेरि पनि भन्छु कमरेड, गम्भीरतापूर्वक सोचौं, पहिले पार्टी पुनःगठन गरौं, त्यसपछि एकताका लागि आधारहरू तयार पारौं,’ भुसालले भनेका थिए।

यद्यपि अध्यक्ष नेपालको बहुमत रहेको सचिवालयले भुसालको कुरा सुनेन। वार्ता कमिटीलाई अघि बढ्न निर्देश गर्यो।

बिहीबारको स्थायी कमिटीमा भने नेताहरूले नेपालको राजीनामा मागेका हुन्।

माओवादी र एकीकृत समाजवादी, प्रेम बहादुरसिंहको  प्रजातान्त्रिक समाजवादी जनता पार्टी,  महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी लगायतबीच एकता हुने टुंगो लगभग लागेको भन्दै नेपाल पक्ष टसमस छैन।

एकीकृत समाजवादी स्रोतका अनुसार माओवादीसँग एकता गरेपछि प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने मोटामोटी सहमति भइसकेको छ। यसका लागि प्रचण्ड र नेपालले १८ पृष्ठ लामो दस्तावेज समेत तयार पारेको स्रोतको भनाइ छ।

यद्यपि  सम्मानित नेता झलनाथ खनाल महासचिव भुसाल सहितको ठूलो पंक्ति चाहिँ माओवादीसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा उभिएको छ।

अध्यक्ष नेपालले एकता तयारी गरेपछि पत्नी रविलक्ष्मीको उपचारका क्रममा दिल्लीमा रहेका झलनाथ खनालले सार्वजनिक रूपमै विरोध गरिसकेका छन्। अहिले माओवादीसँग एकता गर्नुलाई उनले कुबेलाको सहनाइ भनेका छन्।

माओवादीभित्र पनि नेपाल पक्षसँग मात्रै एकता हुने सम्भावना भएको भन्दै ठूलो पंक्ति नआउने हुँदा एकतामा हतारिन नहुने मत बलियो छ।

सम्बन्धित् समाचार