वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाले लामो प्रतीक्षापछि अति आवश्यक बरुण यन्त्र (दमकल) प्राप्त गरेको छ। गाउँपालिकाले जापान दूतावासको सहयोग र युनाइटेड मिशन टु नेपालको सहकार्यमा दमकल प्राप्त गरेको हो।
दमकल हस्तान्तरण कार्यक्रम युनाइटेड मिशन टु नेपालको केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष वलिउद्दिन खान र प्रशासकीय अधिकृत नरेन्द्र यादवले गाउँपालिकाको तर्फबाट दमकल ग्रहण गरे।
अध्यक्ष खानले दमकल गाउँपालिकाका बासिन्दाका लागि ठूलो राहतका रूपमा आएको बताउँदै धन्यवाद व्यक्त गरे। “हरेक वर्ष आगलागीका घटनाले जनधनको क्षति पु(याउँदै आएकोमा अब तत्काल नियन्त्रण गर्न सहज हुनेछ,” उनले भन े।
दमकल प्राप्त भएपछि गाउँपालिकामा हुने आगलागीका घटनामा तत्काल नियन्त्रण र उद्धार कार्य गर्न सहज हुने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले गाउँमै दमकल उपलब्ध हुन लागेसँगै सुरक्षाको दृष्टिले ठूलो राहत महसुस भएको बताएका छन्।








