नविन भुसाल, बाणगंगा ।
कपिलवस्तुमा भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको टोलीले सोमबार पूर्व–पश्चिम राजमार्गमा नियमित सवारी जाँचका क्रममा उक्त माछा फेला पारेको हो। प्रहरी निरीक्षक विराट शर्मा पौडेलको नेतृत्वमा खटिएको टोलीले बुटवलबाट अर्घाखाँची तर्फ जाँदै गरेको लु १ ख ८६२९ नम्बरको यात्रुबसको पछाडिको डिक्कीमा लुकाइ–छिपाइ राखिएको करिब १५० केजी अवैध बैखी माछा बरामद गरेको जनाएको छ।
बरामद माछाको अनुमानित मूल्य करिब रु. ४० हजार रहेको प्रहरीले जनाएको छ। बरामद माछा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा पत्रकार, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थितिमा खाल्डो खनी नष्ट गरिएको हो।
प्रहरीका अनुसार भन्सार छली गरी अवैध रूपमा ल्याइने वस्तुहरूमा निगरानी कडाइ गरिएको छ। यस प्रकारका गैरकानूनी गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कडा कारबाही र निगरानी अभियानलाई निरन्तरता दिने जनाएको छ।








