पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड १५ पुससम्मका लागि एकतर्फी गरिएको छ । दाउन्ने खण्डमा बाँकी कल्भर्टहरू निर्माण गर्न र ढलान गर्न एकतर्फी गरिएको सडक विभागका प्रमुख इन्जिनियर चूडाबहादुर ढकालले बताए ।
दाउन्ने लगातारको जाम र सवारीसाधनको चापले काम गर्न नसकिएका कारण सडक एकतर्फी गरिएको उनको भनाइ छ । यो अवधिमा भारतबाट आउने र भारत जाने ठुला मालवाहक लरीजस्ता सवारीसाधनलाई अन्य बाटो प्रयोग गराइने उनको भनाइ छ । यो खण्डमा कल्भर्ट निर्माणको कामले चार ठाउँमा सडक एकतर्फी रहेको छ भने सडक ढलान भइरहेका ठाउँमा पनि एकतर्फी नै हुनेछ ।
केही दिनअघि आकस्मिक भएको वर्षाले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक चिप्लो भई यातायात आवागमनमा कठिनाइ भएको तथा आगामी दिनहरूमा पुन: बर्सात भएमा थप समस्या हुने कारण यातायात एकतर्फी गरिएको विभागको भनाइ छ । सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरेर मात्र यात्रा गर्न पनि सडक आयोजनाले आग्रह गरेको छ ।








