काठमाडौं : बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई लगातार चौथो खेलसम्म पनि कायम राखेको छ।
मंगलबार पार्क डेस प्रिन्सेसमा बायर्नले घरेलु टोली पेरिस सेन्ट जर्मेन पिएसजीविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गर्यो।
जितसँगै चार खेलमा १२ अंक जोडेको बायर्न शीर्ष स्थानमा छ। पहिलो पराजय बेहोरेको पिएसजी समान खेलबाट ९ अंकका साथ तेस्रो स्थानमा छ।
बायर्नलाई जित दिलाउन दुवै गोल लुइस डियाजले गरे। पिएसजीका लागि जोआओ नेभेसले गोल फर्काए।
खेलको चौथो मिनेटमै डियाजको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ३२औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए।
पहिलो हाफको इन्जुरी समयमा डियाजले रातो कार्ड पाउँदै मैदान छाडेपछि बायर्न १० खेलाडीमा समेटिएको थियो। असरफ हाकिमीलाई खराब ट्याकल गरेपछि डियाले सिधै रातो कार्ड पाएका थिए।
नेभेसले ७४औं मिनेटमा गोल गर्दै पिएसजीलाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन।








