परासी — पश्चिम नवलपरासीको परासी कारागारबाट गत भदौ २४ गते भागेका ४१ भारतीय र बाँकी नेपाली कैदीबन्दीमध्ये हालसम्म ३ सय ४२ जना सम्पर्कमा आएका छन् । भागेका ४१ भारतीय कैदीमध्ये मात्र २ जना पक्राउ परेका छन् भने ३९ जना अझै सम्पर्कबाहिर छन् ।
सीमावर्ती जिल्ला भएकाले उनीहरू भारत पसेको सुरक्षाकर्मीको अनुमान छ । नेपाली कैदीबन्दी समयमै सम्पर्कमा नआए पनि कुनै न कुनै समयमा पक्राउ गर्न सकिने भए पनि भारतीय कैदीबन्दीलाई नेपाल ल्याउने विषयमा जिल्लाको सुरक्षा संयन्त्रमा अन्योल देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले भने, ‘भागेका कैदीबन्दीमध्ये केही आफैँ आए, केही अभिभावकले जेलरको जिम्मामा लगाएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कैदीबन्दी ल्याउन सहज भए पनि भारतीय कैदीबन्दी कसरी ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ र भारतीय प्रहरीसँग समन्वय भइरहेको छ ।’








