काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गोर्खाजले विजयी सुरुवात गरेको छ।
काठमाडौँले एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको हो। जनकपुरले काठमाडौँलाई १३१ रनको लक्ष्य दिएको थियो।
काठमाडौँले उक्त लक्ष्य १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। उसका लागि बेन कार्ल्सवोर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलिन्द कुमारले १९, जोन सिमप्सनले १३ रन बनाए।
बलिङतर्फ जनकपुरका किशोर महतो, अनिल शाह, ललित राजवंशी, सञ्जय कृष्णमूर्ति र जान निकोल लोफ्टी-इटनले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो।
जनकपुरका लागि आशिफ शेखले सर्वाधिक ५४ रन बनाएका थिए। मयन यादवले ३४ र लाहिरु सामाराकुनले २२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ काठमाडौँका मिलिन्द कुमारले ३ तथा करण केसी, शाहब आलम र सन्तोष यादवले एक–एक विकेट लिएका थिए।








