मनोज पौडेल कपिलवस्तु
निकै संवेदनशील मानिने सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पैदल गस्ती थालेको छ । रूपन्देहीको सीमासँग सटेको ताडानगरबाट कपिलवस्तुका सशस्त्रले सीमाको दशगजा क्षेत्रमा सतर्कता बढाउँदै शनिबारबाट पैदल गस्ती गरिरहेका हुन् ।
प्रहरी निरीक्षकको कमाण्डमा दैनिक १०/१२ किमि सीमा क्षेत्रमा हिँड्दै उनीहरूले सुरक्षा सतर्कता बढाएका हुन् । सीमाको पुनिहवादेखि वाणगंगासम्म आइतबार सशस्त्रको डंगरी बीओपीका प्रमुख निरीक्षक वीरेन्द्र सेनले कमाण्ड गर्दै पैदल गस्ती गरेका थिए ।
वाणगंगादेखि सशस्त्रको हर्दौना बीओपीले कमाण्ड गर्दै पश्चिमतिर गस्ती गर्दै गएका छन् । सीमामा रहेका सशस्त्र बीओपीले कमाण्ड गर्दै पूर्वदेखि पश्चिमको कल्यणकोटसम्म पैदल गस्ती गरिने सशस्त्रको डंगरी बीओपीका प्रमुख निरीक्षक सेनले बताए ।
पैदल गस्तीमा २० देखि २५ जनासम्म सशस्त्र हुने गरेका छन् । गस्तीले ठाउँठाउँमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरी गस्ती गरिरहेका छन् । त्यस क्रममा एसएसबीसँग सल्लाह सुझाव, सुरक्षा चुनौती र जोखिमबारे छलफलसमेत भइरहेको छ । जिल्लाको भारतीय सीमासँग सटेको ९३ किमिसम्म गस्ती गरिने बताइएको छ ।









