गृहपृष्ठ Featured शिक्षिकाको कुटाइबाट ८ विद्यार्थी घाइते

शिक्षिकाको कुटाइबाट ८ विद्यार्थी घाइते

सर्लाहीको बरहथवामा एक शिक्षिकाले छात्राहरूलाई निर्घात कुटपिट गरेकी छिन् । जिल्लाको बरहथवा नगरपालिका– ८ स्थित श्री माध्यमिक विद्यालय आनन्दनगरमा पढाउने शिक्षिका गीता कुसवाहले छात्राहरूमाथि निर्घात कुटपिट गरेकी हुन् ।

उनको कुटाइबाट कक्षा चारमा पढ्ने छात्राहरू घाइते भएका छन् । कुसवाहले १० वर्षीया रूपाकुमारी पासवानसहित अन्य आठजना छात्रालाई मरणासन्न हुने गरी कुटपिट गरेको अभिभावकहरूको गुनासो छ ।

शिक्षिका कुसवाहले बाँसको लट्ठीले हत्केलामा मरणासन्न हुने गरी कुटपिट गरेको छात्राहरूको दु:खेसो छ । ‘म्यामले पढाएको बुझिएन भनेर गुनासो राखेका थियौँ,’ पासवानले भनिन्, ‘सुनुवाइ नभएपछि विद्यालयमा रहेको उजुरीपेटिकामा लिखित उजुरी हाल्यौँ । त्यो कुरा म्यामले थाहा पाउनुभएछ । त्यसपछि आज एक्कासि होमवर्क नगरेको भन्दै हामीलाई बाँसको लट्ठीले कुट्नुभयो ।’

शिक्षिकाको कुटाइपछि छात्राहरू बेहोस भएको वडाध्यक्ष राजकिशोर महतोले बताए । ‘वडा कार्यालय स्कुल प्रांगणसँगै छ,’ उनले भने, ‘म वडा कार्यालयमै थिएँ । एक्कासि विद्यार्थीको चिच्याहट सुनेर विद्यालय पुगेँ । त्यहाँ पुग्दा छात्राहरू बेहोस हुन थालेको देखेपछि तत्काल एम्बुलेन्स बोलाएर नगर अस्पतालमा उपचारका लागि पठाएको हो ।’

शिक्षिका गीता कुसवाह डेढ वर्षदेखि विद्यालयमा कार्यरत छिन् । उनी नगरपालिकाले राखेको स्वयंसेवक शिक्षिकका रूपमा नियुक्त भएको वडाध्यक्ष महतोले बताए । विद्यार्थीले शिक्षिका कुसवाहले पढाएको नबुझेको, बोर्डमा लेखेको अक्षर स्पष्ट नभएको गुनासो गर्दै आएका थिए ।

माविको शिक्षक भए पनि उनलाई सात कक्षासम्म मात्र पठनपाठनको जिम्मेवारी तोकिएको थियो । विद्यार्थी बेहोस हुन थालेपछि शिक्षिका कुसवाहा र विद्यालयका प्रधानाध्यापक रामईश्वर महतो सम्पर्कविहीन भएका छन् ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले छात्राहरूको शरीरमा बाहिरी चोटपटक नदेखिएको बताए ।

सम्बन्धित् समाचार