सागर वि.क., वैखरी अनलाईन ।
“सफा पानी सफा बानी, सहयोग पुर्याउने भूपू सैनिक खानेपानी—सफा पानी पिउँ, निरोगी बनौँ” भन्ने मूल नाराका साथ बाणगंगा–गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम आज शुक्रबार बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगर क्षेत्रमा खानेपानीका पर्याप्त स्रोतहरू रहेको उल्लेख गर्दै अब खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाउनु नै नगरको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

उहाँले पानी बिना मानव अस्तित्व सम्भव नभएको प्रष्ट पार्दै सबै घरधुरीमा शुद्ध खानेपानी पुर्याउने अभियानलाई नगरले प्राथमिकताका साथ अगाडि बढाएको जिकिर गर्नुभयो । हाल बाणगंगाका ५७ प्रतिशत घरधुरीमा शुद्ध खानेपानी पहुँच रहेको उल्लेख गर्दै आगामी दुई वर्षभित्र ७० प्रतिशतमा पुर्याउने लक्ष्य रहेको जानकारी नगर प्रमुख अर्यालले बताउनुभयो ।
खानेपानी तथा सरसफाई महासंघका केन्द्रीय सदस्य विश्व कार्कीले यस खानेपानी समितिले पारदर्शिता र दायित्वबोधका कारण उत्कृष्टता हासिल गरेको बताउनुभयो । उहाँले बाणगंगामा शुद्ध खानेपानीको पहुँच विस्तारका लागि यस खानेपानी संस्थाको भूमिका अझ महत्वपूर्ण बन्दै गएको बताउनुभयो ।
त्यसैगरी खानेपानी डिभिजन कार्यालय तौलिहवाका प्रमुख आवेद हुसेन मियाले समितिको कामप्रति प्रशंसा व्यक्त गर्दै आगामी प्रविधिगत तथा प्राविधिक सहयोगमा डिभिजन कार्यालय सदैव साथमा रहने आश्वासन दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र बिक्रम शाहले उपभोक्ताको विश्वास र सहकार्यका कारण समितिको काम प्रभावकारी बनेको उल्लेख गर्दै सेवा विस्तारलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साधारणसभामा सचिव कृष्ण बहादुर शाहीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष राममाया रानाले आर्थिक प्रतिवेदन, संयोजक कमल पौडेलले लेखा समितिको प्रतिवेदन, निर्मल शाहीले पानी सुरक्षा समितिको प्रतिवेदन तथा संयोजक बालाराम ज्ञवालीले अनुगमन तथा मूल्यांकन प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा समितिले पछिल्ला वर्षहरूमा सुरक्षित पानी वितरण, संरचना विस्तार तथा स्रोत संरक्षणमा गरेको कार्य प्रगति उल्लेख गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले भूपू सैनिक खानेपानी समितिले समुदायमा देखाएको उदाहरणीय सेवाको प्रशंसा गर्दै अब बाणगंगा नगरपालिकाका सबै वडामा शुद्ध खानेपानी विस्तार गर्नु पर्ने सुझाव दिएका थिए ।
अध्यक्ष राजेन्द्र बिक्रम शाहको अध्यक्षता, उपाध्यक्ष झलक बहादुर मल्लको स्वागत मन्तव्य, तथा सचिव कृष्ण बहादुर शाहीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा उपभोक्ताको उल्लेख्य सहभागिताम रहेको थियो ।








