दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले भोलिदेखि गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिएको छ।
शनिबार बालुवाटारमा सरकार र अभियानका प्रतिनिधिबीच भएको वार्तापछि उक्त सहमति भएको हो।
अभियानले वार्तामा हालको शान्ति–सुरक्षा स्थिति तथा नागरिक चासोलाई पहिलो प्राथमिकतामा राख्दै महाअभियानले उठाएका मुद्दाहरू सम्बोधन गर्न सरकार निरन्तर वार्ता, छलफल र सहजीकरण प्रक्रियामा रहने प्रतिबद्धता जनाइएको सहमति पत्रमा उल्लेख गरिएको छ।
वार्तामा महाअभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ता विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाई सहभागी थिए।
सरकारतर्फ गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल तथा सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो।








