इंग्लिस प्रमियर लिगमा जारी सिजन साविक च्याम्पियन लिभरपुलको निरासाजनक यात्रा जारी रहँदा शनिबार म्यानचेस्टर सिटीले आर्सनलसँगको अंक दुरी घटाउने मौका समेत गुमाएको छ। यद्यपि चेल्सीले आफ्नो खेलमा जित निकाल्दै सिटीलाई पछि पारेर दोस्रो स्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा नोटिङ्घम फरेस्टसँग लिभरपुल ३-० ले स्तब्ध बन्यो। लिभरपुलको यो सिजनमा छैटौं हार हो। १२ खेल खेलेको लिभरपुल ६ खेलमा जित र ६ खेलमा हार पछि १८ अङ्क बनाएर अंक तालिकाको ११ औं नम्बरमा धकेलिएको छ। लिभरपुललाई हराएको फरेस्ट भने रेलिगेशन जोन छोड्दै १२ अंक बनाएर १६ औं नम्बरमा उक्लिएको छ।
त्यस्तै म्यानचेस्टर सिटी शनिबारनै भएको खेलमा न्युक्यासल युनाइटेड सँग २-१ ले पराजित भयो। सबै तीन गोल दोस्रो हाफमा भएको खेलमा सिटीविरुद्ध हार्वे बर्नेसले दोस्रो हाफमा गरेको २ गोल सिटीलाई हराउन पर्याप्त भयो। सिटीका लागि रुवेन डायसले एक गोल फर्काएपनि टिमको हार टार्न पर्याप्त भएन्। खेलपछि सिटीको १२ खेलबाट २२ अङ्क रहेको छ।
शनिबारनै भएको खेलमा चेल्सीले बर्नलीलाई २-० ले हराएर २३ अङ्क सहित अंङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलको ११ खेलबाट २६ अङ्क रहेको छ।








