गृहपृष्ठ Featured न्यूनतम सेवा मापदण्डमा पिपरा अस्पतालले हासिल गर्‍यो ६० प्रतिशत अंक

न्यूनतम सेवा मापदण्डमा पिपरा अस्पतालले हासिल गर्‍यो ६० प्रतिशत अंक

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ मा अवस्थित पिपरा अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत समीक्षा तथा मूल्याङ्कन कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा बसेको विशेष कार्यक्रममा अस्पतालको समग्र प्रगति, सेवा स्तर र सुधारका सम्भावनाहरूबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्तरीय अनुगमन तथा मूल्याङ्कन समितिका प्रतिनिधि डा. अच्युत शर्माले समितिबाट तयार पारिएको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रस्तुत प्रतिवेदनमा अस्पतालले पछिल्लो समय सेवा प्रवाहमा ल्याएको सुधार, संरचनागत मजबुती, जनशक्ति परिचालन, औषधि तथा उपकरण व्यवस्थापनलगायतका विषय समेटिएका थिए ।

प्रतिवेदन अनुसार, पिपरा अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा ६० प्रतिशत अंक प्राप्त गर्दै सन्तोषजनक प्रगति हासिल गरेको उल्लेख गरिएको छ । यद्यपी गत बर्ष यस अस्तालले ६८ प्रतिशत अंक प्राप्त गरेको थियो ।

सेवा विस्तार, संरचनागत सुधार, बिरामीमैत्री सेवा प्रवाह तथा विभिन्न सूचकहरूमा अस्पतालले प्रभावकारी ढंगले काम गरिरहेको प्रतिवेदनले देखाएको छ । तर, केही क्षेत्रमा अझ सुधार आवश्यक रहेको सुझाव पनि समितिबाट प्रस्तुत गरेको छ ।

नगरप्रमुख चक्रपाणी अर्यालले अस्पताल सुधारमा नगरपालिकाले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक संरचनाको अभावका कारण सेवा प्रवाहमा चुनौतीहरू देखिए पनि तिनलाई शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पिपरा अस्पताललाई आधुनिक, सेवामैत्री र सर्वसुलभ स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्नु नगरको प्रमुख लक्ष्य भएको उहाँले बताउनुभयो । “अनुगमन समितिले देखाएका कमजोरी र सुधारका बुँदाहरूलाई नगरपालिकाले तुरुन्तै कार्यान्वयनमा लैजान्छ । भौतिक संरचना, जनशक्ति र उपकरण अभावका विषयमा आवश्यक बजेट व्यवस्था गर्दै अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्न नगरपालिका दृढ छ,” उहाँले भन्नुभयो ।

नगरप्रमुख अर्यालले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालको भौतिक पूर्वाधार निर्माण, प्रसूति तथा आपत्कालीन सेवाको क्षमता विस्तार, स्वास्थ्यकर्मीको संख्यात्मक तथा गुणात्मक वृद्धि लगायतका काम प्राथमिकतामा रहेको बताउनुभयो । साथै, अस्पतालले उपलब्ध गराइरहेको सेवामा थप पारदर्शिता, उत्तरदायित्व र प्रभावकारिता सुनिश्चित गर्न नियमित अनुगमन जारी रहने पनि उहाँले स्पष्ट पार्नुभयो ।

अस्पताल प्रशासन शाखाका प्रमुख राजु सुनारीको संचालनमा सम्पन्न उत्तः कार्यक्रममा जनस्वास्थ्य निरीक्षक उमेशचन्द्र घिमिरेले अस्पतालको वर्तमान अवस्था, चुनौती, आगामी योजना तथा रणनीतिक कार्यक्रमहरूबारे विस्तृत खाका प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, अस्पतालका कर्मचारी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार