गृहपृष्ठ Featured रूससँगको सहकार्यले अवसरको नयाँ ढोका खोलेको भारतीय प्रधानमन्त्री मोदीको भनाइ

रूससँगको सहकार्यले अवसरको नयाँ ढोका खोलेको भारतीय प्रधानमन्त्री मोदीको भनाइ

भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौताहरु भएका छन् । नयाँ दिल्लीमा सम्पन्न २३औँ वार्षिक द्विपक्षीय बैठकमा स्वास्थ्य, कृषि, शिक्षा, जनस्तर आदान–प्रदान तथा जहाज, समुद्री सहकार्य र मल–उद्योगसम्बन्धी सम्झौता भएको बीबीसीले जनाएको छ ।

यस्तै रुससँगको सन् २०३० सम्मको आर्थिक सहकार्य कार्यक्रमले व्यापार, लगानी र सह–उत्पादनका नयाँ अवसर खोलेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । रूसले भारतको सबैभन्दा ठूलो परमाणु ऊर्जा परियोजनालाई ‘फ्ल्यागशिप’ भनेको छ ।

दुईदेशबीच महत्त्वपूर्ण खनिज, सांस्कृतिक तथा मानवीय आदान–प्रदानमा सहयोग विस्तार हुनेछ । दुवै नेताले आतंकवादविरुद्ध संयुक्त आवाज उठाउँदै ऊर्जा आपूर्ति, व्यापार लगायत क्षेत्रमा गहिरो साझेदारी निरन्तर रहने बताएका छन् ।

२ दिने भारत भ्रमणका क्रममा भ्लादिमिर पुटिनले युक्रेनले डोनवास क्षेत्र नछोडे थप बल प्रयोग गर्ने चेतावनी दिनुभएको छ । भारत र अमेरिकाबीच व्यापार तनाव बढी रहेका बेला रूससँग भएका नयाँ सम्झौताले भारतप्रति अमेरिकी दृष्टिकोण कस्तो रहने भन्ने चासो छ । अमेरिकाले यसअघि नै भारतलाई रुसबाट तेल खरिद नगर्न दबाब दिँदै आएको थियो ।

तर राष्ट्रपति पुटिनले भारतलाई ‘निर्बाध’ रुपमा इन्धन आपूर्ति गर्न रुस तयार रहेको बताउनुभएको छ । रूसी राष्ट्रपति पुटिन आफ्नो २ दिने भारत भ्रमण सकेर गएराति नै स्वदेश फर्कनुभएको छ ।

सम्बन्धित् समाचार