स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । यसपटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल स्वदेशी अभियानलाई थप प्राथमिकताका साथ अगाडि बढाइने भएको छ ।
स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयाँ प्रविधिको खोजी, कृषिको व्यवसायीकरण, पर्यटन प्रबर्द्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्टार्टअप स्वरोजगार सिर्जना, कला र संस्कृतिको जगेर्ना, गोष्ठी तथा अन्तरक्रिया गरिने भएको छ ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ५०० स्टलहरु रहनेछन् । प्रदर्शनी करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ ।
प्रदर्शनीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । प्रदर्शनी सम्पन्न गर्न रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमिति गठन गरिएको छ ।