सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्ने भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेल बिहीबार अपराह्न ४ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्न लागेको हो।
एनपीएलमा उपाधि दाबेदार टोलीको रुपमा हेरिएको विराटनगर बिहीबार हुने दोस्रो क्वालिफायरमा लुम्बिनीलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा छ। लुम्बिनीविरुद्ध मैदानमा उत्रिँदा विराटनगर अघिल्लो खेलमा गरेका गल्ती दोहोर्याउने पक्षमा छैन।
गत सिजन अंक तालिकाको पुछारमा रहेर एनपीएल यात्रा सकाएको लुम्बिनी यो सिजन लयमा फर्किएको छ। पहिलो खेलमा जित निकालेको लुम्बिनीले त्यसपछिका तीन खेलमा लगातार हार ब्यहोरोको थियो। तर, त्यसपछिका चार खेलमा लगातार जित निकालेको लुम्बिनी यही लयलाई कायम राख्ने योजनामा हुनेछ।
दोस्रो क्वालिफायरमा लुम्बिनीलाई एलिमिनेटर खेलको जस्तो प्रदर्शनले पुग्ने छैन। बलियो विराटनगरविरुद्ध मैदान उत्रिँदा लुम्बिनी अझ बलियो भएर मैदान उत्रन जरुरी छ।








