रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचक नजिक आज बिहान भएको ट्रक र कार दुर्घटनामा ज्यान गुमाएका वृद्धको पहिचान खुलेको छ।
आज बिहान करिब ७:५० बजे बागमती प्रदेश–०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक–अर्कालाई ओभरटेक गर्ने क्रममा आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरका अनुसार दुर्घटनामा कारमा सवार बारा निजगढ–३ का ७९ वर्षीय भक्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा कार चालक निजगढका ३० वर्षीय दिनेश थपलियाको टाउको र अनुहारमा चोट लागेको छ भने चन्द्रपुर–६ का २० वर्षीय डोरमणि सापकोटालाई बाहिरी चोट नलागे पनि छाती दुख्ने समस्या देखिएको ट्राफिक प्रहरीले जनाएको छ।
घटनापछि ट्रक चालक मकवानपुर, हेटौंडा–७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनीगाहपुरले ओभरटेकका क्रममा भएको लापरबाही नै दुर्घटनाको प्रारम्भिक कारण देखिएको जनाएको छ।