अमेरिकाको रोड आइल्यान्ड राज्यको प्रिभिडेन्सस्थित प्रतिष्ठित निजी ब्राउन विश्वविद्यालयमा स्थानीय समयअनुसार शनिबार दिउँसो भएको गोलीकाण्डमा २ विद्यार्थी मारिएका छन्। स्थानीय समयअनुसार ४ बजे तिर एक व्यक्तिले अन्धाधुन्ध आक्रमण गर्दा अन्य ९ विद्यार्थी घाइते भएको जनाइउको छ।
विश्वविद्यालयको इन्जिनियरिङ र भौतिकशास्त्र भवन को एउटा कक्षाकोठामा फाइनल परीक्षाको तयारी भइरहेको समयमा यो दुःखद् घटना भएको थियो। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दिएको छ। प्रिभिडेन्सका मेयर ब्रेट स्माइलीले घाइतेहरूको अवस्था हेर्दा हताहत हुनेको सङ्ख्या बढ्न सक्ने बताए।
गोली चलाउने शङ्कास्पद आक्रमणकारी अझै फरार रहेका छन्। प्रहरीका अनुसार आक्रमणकारी पुरै कालो लुगा लगाएका एक पुरुष थिए र उनी घटनास्थलबाट हिँडेरै भागेका थिए। अधिकारीहरूले आक्रमणकारी करिब ३० वर्षको युवा भएको हुन सक्ने जनाएका छन्।
प्रहरीले घटनाको लगत्तै एक जनालाई नियन्त्रणमा लिएको भए पनि उनी गोलीकाण्डमा संलग्न नभएको पत्ता लागेपछि रिहा गरिएको थियो। शङ्कास्पद व्यक्तिको खोजीका लागि बृहत् मानहन्ट सुरु गरिएको छ। स्थानीय, राज्य र सङ्घीय निकायहरूका ४०० भन्दा बढी कानून प्रवर्तन अधिकारीहरू परिचालन भएका छन्।
खोजी कार्यमा एफबीआई र एटीएफ लगायतका सङ्घीय एजेन्सीहरू पनि संलग्न छन्। यसैबीच, ब्राउन विश्वविद्यालय र त्यस वरपरको ठूलो क्षेत्रमा सेल्टरहरु लिएर बसेको हुन सक्ने चेतावनी जारी गरिएको छ। त्यसैले स्थानीय बासिन्दाहरूलाई सुरक्षित रूपमा घरभित्रै बस्न आग्रह गरिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्प ले यस गोलीकाण्डबारे आफूलाई जानकारी गराइएको बताएका छन्। शनिबार अबेर राति भएको पत्रकार सम्मेलनमा मेयर ब्रेट स्माइलीले आक्रमणकारीको खोजी रातभर जारी रहेको र स्थानीय बासिन्दाहरूलाई सप्ताहान्तका आफ्ना योजनाहरू रद्द गरेर सुरक्षित बस्न भनेका छन्।
उनले क्रिसमस नजिकिँदै गर्दा धेरै बासिन्दाहरु बिदाका पार्टीहरू वा चर्च जाने जस्ता पूर्व निर्धारित कार्यक्रमहरू बनाएको हुन सक्ने भन्दै सचेत गराएका हुन्।








