वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु जेसीज वर्ष–२०२५ ले आफ्ना वार्षिक कार्यक्रमअन्तर्गत जेसीज सप्ताह विभिन्न शैक्षिक, सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ। कपिलवस्तु जेसीजका शाखा अध्यक्ष जेसी जनक प्रसाद बेल्बासेले सप्ताहभर सञ्चालन भएका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो।

जेसीज सप्ताहअन्तर्गत पहिलो कार्यक्रमका रूपमा “One Stage, One Future – Motivational Program” मंसिर २४ गते वाणगंगा नगरपालिका–४ मा सञ्चालित १६औँ कपिलवस्तु महोत्सव स्थलमा सम्पन्न भएको थियो। कार्यक्रम jci Nepal का प्रशिक्षक रमेश अर्यालको प्रमुख प्रशिक्षणमा आयोजित थियो। कपिलवस्तु जेसीजका शाखा अध्यक्ष जेसी जनक प्रसाद बेल्बासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कपिलवस्तु जेसीज BOT क्लबका अध्यक्ष यज्ञ प्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा वाणगंगा नगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयका करिब ३ हजार विद्यार्थी, शिक्षक, अभिभावक तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको जेसीज सप्ताहका मूल संयोजक जेसी राजन अर्यालले जानकारी दिनुभयो। विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्यले मात्र उपलब्धिमूलक सिकाइ सम्भव हुने सन्देश दिँदै प्रशिक्षक अर्यालले ‘घैटो गेम’मार्फत कार्यक्रमलाई थप रोचक बनाउनु भएको सहभागीहरूले बताएका छन्। कार्यक्रम कपिलवस्तु जेसीजका उपाध्यक्ष जेसी शशांक पौडेलको संयोजनमा सम्पन्न भएको हो।

यसैगरी सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै कपिलवस्तु जेसीजले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान तथा साइबर सुरक्षा सचेतना कार्यक्रम मंसिर २५ गते बाल माध्यमिक विद्यालय, बैरियामा सम्पन्न गरेको छ। शाखा अध्यक्ष जेसी जनक प्रसाद बेल्बासेको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक टिकाराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले प्रमुख प्रशिक्षकको रूपमा प्रशिक्षण दिनुभएको थियो।

टिन–एजका विद्यार्थीहरू यस्ता घटनाको बढी जोखिममा रहने उल्लेख गर्दै निरीक्षक पौडेलले सधैं सचेत रहन र कुनै समस्या आए नहिच्किचाई प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो। कार्यक्रम कपिलवस्तु जेसीजका कानूनी सल्लाहकार जेसी हेमन्त गिरीको संयोजन तथा जेसीज सदस्य पदम बेल्बासेको सञ्चालनमा सम्पन्न भएको हो।

त्यस्तै “विद्यार्थीको सिकाइ अभिवृद्धिमा जेसीजको प्लेटफर्म” भन्ने नारासहित कपिलवस्तु जेसीजले मंसिर २६ गते जनता क्याम्पस, पिपरामा Mastering of Sub-conscious Mind सम्बन्धी तालिम प्रदान गरेको छ। करिब ४ सय विद्यार्थीको सहभागितामा सम्पन्न कार्यक्रम शाखा अध्यक्ष जेसी जनक प्रसाद बेल्बासेको अध्यक्षतामा तथा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

तालिमका प्रमुख प्रशिक्षक तथा JCI देवदहका अध्यक्ष जेसी दीपक अधिकारीले विद्यार्थीहरूलाई उत्साहपूर्ण प्रशिक्षण दिनुभएको थियो। कार्यक्रम EVP जेसी ऋतु खरेलको संयोजन तथा मानार्थ सदस्य जेसी नेत्र बन्जाडेको सञ्चालनमा सम्पन्न भएको हो।

जेसीजको मूल मन्त्र “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” लाई आत्मसात गर्दै कपिलवस्तु जेसीजले मंसिर २६ गते वाणगंगा नगरपालिका–९ चौवास्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको भवनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। हालसम्म रक्तदान कार्यक्रम नभएको क्षेत्रमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा ४६ प्वाइन्ट रगत संकलन गरिएको छ।

कार्यक्रम शाखा अध्यक्ष जेसी जनक प्रसाद बेल्बासेको अध्यक्षतामा, वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यतामा तथा नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हुमलाल पौडेल र कपिलवस्तु जेसीज BOT क्लबका अध्यक्ष जेसी यज्ञ प्रसाद भट्टराईको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रम GLC जेसी हेमन्त गिरीको संयोजन तथा नि. वर्तमान अध्यक्ष जेसी प्रविन पौडेलको सञ्चालनमा सम्पन्न भएको हो।

साथै, कपिलवस्तु जेसीजले आफ्नो Wings Project अन्तर्गत प्रस्तावित कपिलवस्तु जुनियर जेसीज का सदस्यहरूका लागि मंसिर २७ गते प्रि–इण्डक्सन ट्रेनिङ सम्पन्न गरेको छ। कपिलवस्तु जेसीजको सचिवालय, बैरियामा आयोजित कार्यक्रम शाखा अध्यक्ष जेसी जनक प्रसाद बेल्बासेको अध्यक्षतामा तथा कपिलवस्तु जेसीज वर्ष–२०२३ का अध्यक्ष जेसी अमृत घिमिरेको प्रमुख प्रशिक्षणमा सम्पन्न भएको थियो।
प्रशिक्षक घिमिरेले JCI का mission, vision, nomes, नेतृत्व तथा व्यक्तित्व विकासका विषयमा प्रशिक्षण दिँदै सिकेका ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभयो। कार्यक्रम उपाध्यक्ष जेसी सुशील घिमिरेको संयोजन तथा कानूनी सल्लाहकार जेसी हेमन्त गिरीको सञ्चालनमा सम्पन्न भएको थियो।
कपिलवस्तु जेसीजले सामाजिक सचेतना, नेतृत्व विकास र मानवसेवाका विविध कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै जेसीज सप्ताह सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।








