नेपालका दुई वटा हात्तीहरू बुधबार कतार उडेका छन्। भैरहवा विमानस्थलबाट कतार एयरको विमान चढाएर उनीहरूलाई कतार लगिँदैछ।
२०८१ वैशाख ११ र १२ गते भएको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो। त्यसपछि हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्तीहरू कतारलाई दिन छनोट गरिएको थियो।
नेपालले अन्य देशलाई हात्ती उपहार दिएको पहिलो पटक हो। यसअघि विभिन्न देशलाई एक सिंगे गैंडा भने नेपालले उपहारका रूपमा पठाएको थियो।
७ वर्षकी रूद्रकली र ५ वर्षको खगेन्द्र प्रसादलाई खोरमा राखेर जहाज चढाइ बिदा गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए।
भैरहवा विमानस्थलमा नेपालले हात्तीहरू कतार सरकारलाई हस्तान्तरण गरेको थियो।

कतारले चार्टर विमानमार्फत हात्तीहरू लगेको हो। यसअघि सोमबार खोरसहित हात्तीहरूलाई ट्रक चढाएर चितवन सौराहाबाट भैरहवा पठाइएको थियो। सौराहामा वैदिक विधिअनुसार पूजा गरेर फूल माला लगाई हात्तीहरूलाई बिदा गरिएको थियो।








