रुपन्देही ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरू अध्ययनका लागि विदेशी विद्यार्थीको संख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रित र बुटवल तथा देव दहमा प्रयोगिक बौद्ध अन्तर्गतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा विदेशी विद्यार्थीहरू भर्ना भएका छन् ।
विश्वविद्यालयमा चीन, भारत, श्रीलङ्का, भुटान, म्यानमार, जापान, मलेसियालगायतका देशका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । सबैभन्दा धेरै चीनका विद्यार्थीहरू रहेका छन् । बुद्धिजम एण्ड नेपाल स्टडिज, बुद्धिजम एण्ड पीस, बुद्धिजम एण्ड हिमालयसहितका विषयमा विदेशी विद्यार्थीको आकर्षण देखिएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डिन डा। माणिकरत्न शाक्यले विद्यावारिधिदेखि स्नातक तहसम्मै विदेशी विद्यार्थीहरू भर्ना भएको बताए । ‘विदेशीमा विद्यार्थीले हाम्रो विश्वविद्यालयलाई विश्वास गरेका छन्, हामी गुणस्तरीय शिक्षा प्रदानमा प्रतिबद्ध रहेका छौँ, उनले भने ।








