फ्रान्सका स्ट्राइकर ओस्मान डेम्बेलेले फिफा वर्ष खेलाडी, २०२५ को उपाधि जितेका छन् । फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा मंगलबार राति आयोजना गरेको कार्यक्रममा डेम्बेलेलाई पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी उपाधि दिएको हो । उनले गत सेप्टेम्बरमा बालोन डि’अर उपाधि हात पारेका थिए । फिफाले सन् २०२४ को अगस्टदेखि सन् २०२५ को अगस्टसम्म भएको मतदानका आधारमा अवार्ड प्रदान गरिएको हो ।
डेम्बेलेले एक वर्षको अवधिमा पिएसजीलाई उपाधि दिलाउन आफ्नो योगदानमा साथीहरूको सहयोग भएको बताएका छन् । ‘यो उपाधि जित्नुका पछाडि साथीहरूको योगदान धेरै छ,’ उनले भने, ‘मैदानमा उनीहरूको सहयोगविना गोल गर्न कहाँ सम्भव हुन्छ ?’ फिफा वर्ष खेलाडी भएसँगै आफूमाथि दबाब आएको उनको भनाइ छ । ‘यो उपाधिसँगै राम्रो प्रदर्शन गर्नुपर्ने दबाब महसुस गरेको छु,’ डेम्बेलेले भने, ‘आगामी दिनमा पिएसजीसँगै राष्ट्रिय टोलीमा समेत उत्कृष्ट प्रदर्शन गर्ने वाचा गर्छु ।’








