बंगलादेशमा गत वर्ष शेख हसिनाको सरकार ढलाउने विद्यार्थी आन्दोलनमा प्रमुख भूमिका खेलेको इन्कलाप मञ्चका प्रवक्ता शरिफ उस्मान हादीको मृत्युपछि हिंसा चर्किएको छ ।
हादीलाई गत साता ढाकाको एउटा मस्जिदबाट बाहिर निस्किने क्रममा नकाबधारी आक्रमणकारीहरूले टाउकोमा गोली हानेका थिए । उनको उपचारका क्रममा बिहीबार सिंगापुरमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
सन् २०२४ मा भएको आन्दोलनपछि आगामी फेब्रुअरीका लागि निर्वाचनको मिति घोषणा भएको एकदिनपछि हादीमाथि गोली प्रहार भएको हो । चुनावमा हादी स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रिने योजनामा थिए ।
उनको मृत्युको खबर सार्वजनिक भएसँगै उनका सयौँ समर्थकहरू सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले बंगलादेशका चर्चित पत्रिका द डेली स्टार र प्रोथोम अलीको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।
घटनास्थलमा सेना तैनाथ गरिएको थियो भने अग्निनियन्त्रकहरूले भवनभित्र फसेका पत्रकारहरूलाई उद्धार गरेका थिए ।योसँगै पूर्वराष्ट्रपति शेख मुजीबर्रहमानको घरमा समेत तोडफोड गरेका छन् भने शेख हसिनाको पार्टी अवामी लिगको कार्यालय जलाइदिएका छन् । अर्कोतिर धर्मको अपमान गरेको आरोपमा एक हिन्दु युवालाई समेत कुटेर हत्या गरी शवलाई समेत रुखमा झुण्ड्याएर आगो लगाइदिएका छन् । प्रहरीले बिहीबार राति भालुका भन्ने स्थानमा दिपु चन्द्रदासको हत्या गरी जलाएको बताएको छ ।
पत्रकारको गोली हानी हत्या
बंगलादेशको खुलनामा इमदादुल हक मिलन नाम गरेका एक पत्रकारको गोली हानी हत्या भएको छ । प्रहरीले यो घटनामा अन्य एक जना घाइते भएको र उनलाई अस्पताल भर्ना गरिएको जनाएको छ । अरंगघाटा प्रहरीका अधिकारी शाहजहाँ अहमदले बिहीबारराति साढे ९ बजे यो घटना भएको बताएको छ । बजारमा एक पसलमा बसेर चिया पिइरहेका बेला मोटरसाइकलमा आएका चार जनाले उनीमाथि गोली चलाएका थिए ।








