गृहपृष्ठ Featured सम्झौता उल्लंघन भएको भन्दै मेलम्चीको पानी पुनः रोक्ने स्थानीयको चेतावनी

सम्झौता उल्लंघन भएको भन्दै मेलम्चीको पानी पुनः रोक्ने स्थानीयको चेतावनी

काठमाडौं ।

मेलम्ची खानेपानी आयोजनाको प्रभावित क्षेत्रका बासिन्दा र सरकारबीच भएको लिखित समझदारी कार्यान्वयन नभएपछि सिन्धुपाल्चोकका स्थानीयले पुनः काठमाडौं आउने पानी बन्द गर्ने चेतावनी दिएका छन् ।

सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि स्थानीय भेण्डर र भाडावालको ठूलो रकम भुक्तानी नगरेको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिने तयारीमा लागेको हो । लोकल भेन्डर्स संघर्ष समितिका संयोजक उत्तर श्रेष्ठका अनुसार सरकारले तिर्नुपर्ने कुल ११ करोड ६६ लाख ५५ हजार रुपैयाँ भुक्तानी नदिएसम्म अब पानी पठाउन नसकिने स्थिति सिर्जना भएको छ ।

यसअघि नै भएको समझदारी पत्रमा १५ दिनभित्र बक्यौता रकम निकासा गर्ने स्पष्ट उल्लेख भए पनि महिनौँ बित्दा समेत सरकारले आलटाल गरेपछि स्थानीय आक्रोशित बनेका हुन् ।

यसअघि मन्त्रालयको नेतृत्व तह र स्थानीय सरोकारवालाबीच २०८२ कार्तिक २५ मा भएको समझदारी पत्रमा मेलम्ची आयोजनाका कारण प्रभावित भएका व्यवसायी, कृषि फर्म र दैनिक जीवनयापनमा परेको क्षतिको राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो ।

विशेषगरी बाढीबाट प्रभावित क्षेत्रमा भएका क्षतिको सत्य तथ्य संकलन गरी ३ महिनाभित्र गृह मन्त्रालयमार्फत राहत वितरण गर्ने र स्थानीय भेण्डरहरूको बक्यौता १५ दिनभित्रै फरफारक गर्ने सरकारी प्रतिबद्धता थियो । तर, लिखित रूपमा गरिएका यी कुनै पनि बुँदाहरू कार्यान्वयनमा नआएपछि स्थानीयले सरकारलाई विश्वासघातीको संज्ञा दिएका छन् ।

सम्बन्धित् समाचार