गृहपृष्ठ Featured कपिलवस्तु कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

कपिलवस्तु कृषि सहकारीको पाँचौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तु कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम आज शनिबार बाणगंगा नगरपालिका–१ बैरियामा अवस्थित मायादेवी रिसोर्टमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सहकारीका सल्लाहकार समितिका संयोजक पोष्टराज गौतमले सहकारीलाई कृषि कार्यक्रमसँग जोड्दै सदस्यहरूलाई कृषि उत्पादनमा सक्रिय रूपमा संलग्न गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले खेतबारी हुनेले खेतमै र नहुनेले कौसीमा भए पनि कृषि कर्म गर्न आग्रह गर्दै सहकारीलाई कृषिमैत्री बनाउन आधुनिकिकरण तथा नवीनतम प्रविधि भित्र्याउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका सहकारीका अध्यक्ष रामबहादुर पौडेलले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस वर्ष शेयर सदस्य संख्या ५ सय पु¥याउने र शेयर पुँजी १ करोड २७ लाख ८७ हजार रुपैयाँ पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले २०८३ सालको असार मसान्तसम्ममा बचत रकम ४ करोड रुपैयाँभन्दा बढी पु¥याउने लक्ष्य समेत रहेको बताउनुभयो ।

अध्यक्ष पौडेलले नीति तथा कार्यक्रममा संस्थागत विकास तथा विस्तार, तालिम तथा क्षमता अभिवृद्धि, सेवामूलक कार्यक्रम, प्रवद्र्धन तथा प्रोत्साहन र कृषि व्यवसाय सञ्चालनसम्बन्धी कार्यक्रम समावेश गरिएको उल्लेख गर्नुभयो ।

सहकारी सदस्यहरूको सक्रिय सहभागिता र विश्वासका कारण संस्था क्रमशः सुदृढ बन्दै गएको बताउँदै उहाँले आगामी दिनमा सहकारीलाई थप पारदर्शी, व्यावसायिक र किसानमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै कृषि उत्पादनको बजारीकरण, लागत घटाउने कार्यक्रम तथा सदस्यहितमा आधारित योजनालाई प्राथमिकता दिइने उहाँको भनाइ छ ।

वार्षिक साधारण सभामा सहकारीका सचिव नवदत्त घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । सो क्रममा उहाँले सहकारीको हालको शेयर सदस्य संख्या ४५१ जना पुगेको जानकारी दिनुभयो । गत वर्ष ६९ जना रहेको बाल बचत सदस्य संख्या १२ जना थप भई हाल ८१ जना पुगेको उहाँले बताउनुभयो । सचिव घिमिरेका अनुसार संस्थाको कुल चुक्ता शेयर पुँजी १ करोड २५ लाख ४२ हजार रुपैयाँ पुगेको छ भने असार मसान्तसम्म बचत संकलन रकम झण्डै ३ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

यस्तै कार्यक्रममा सहकारीका कोषाध्यक्ष नारायणप्रसाद पौडेलले आर्थिक प्रतिवेदन र लेखा संयोजक मोहन अर्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत सम्पूर्ण प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको सहकारीका व्यवस्थापक बविता भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिका–१ का निवर्तमान अध्यक्ष तथा सहकारीका सल्लाहकार बालकुमारी पन्त अधिकारी, हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र पाण्डे, बाणगंगा मैरी तथा मह उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष लिलापति घिमिरेलगायत वक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले सहकारीले किसानको आर्थिक सशक्तीकरण, आधुनिक कृषि प्रविधिको प्रयोग र उत्पादन वृद्धि गर्न निरन्तर भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो ।

सहकारीका सचिव नवदत्त घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा सहकारीका उपाध्यक्ष ओमप्रकाश घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहकारीका शेयर सदस्य, पदाधिकारी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार