जेनजी प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले युवा आन्दोलनको भावनामाथि धोका दिएको भन्दै आन्दोलनको घोषणा गरेको छ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै ढुंगाना समूहले विभिन्न १० बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेको हो। भोलिदेखि आन्दोलनको घोषणा गरेको यो समूहले शान्तिपूर्ण आन्दोलन गर्ने बताएको छ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्ति अनुसार आन्दोलनकारीहरूले मुख्यतया निम्न मागहरू अघि सारेका छन्:

-
संवैधानिक सुधार र संविधान पुनर्लेखन: राज्यको पुनःसंरचना र राजनीतिक स्थिरताका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी संविधान पुनर्लेखन गर्नुपर्ने।
-
न्यायिक सुधार: भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली ‘भ्रष्टाचार निर्मूल आयोग’ गठन र अदालतका फैसलाहरूको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्ने।
-
आन्दोलनकारीको रिहाइ र न्याय: अघिल्लो आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष युवाहरूको तत्काल रिहाइ, घाइतेहरूको उपचार तथा शहीद परिवारका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी।
-
मताधिकार र एनआरएन नीति: विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्दै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ नीतिलाई व्यवहारमा उतार्नुपर्ने।
-
पीडितको न्याय: मिटरब्याज, सहकारी, लघुवित्त र उखु किसानका समस्या समाधान गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था।








