गृहपृष्ठ Featured सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६३ प्रतिशत पुग्यो

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६३ प्रतिशत पुग्यो

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति ६३ दशमलव ०१ प्रतिशत भएको छ ।

गत ११ माघमा ‘ब्रेक थ्रु्’ गरिएको एक हजार १२६ मिटर लामो सुरुङमार्गको वित्तिय प्रगति ५६ दशमलव ३६ प्रतिशत रहेको आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् ।

सुरुङ मार्ग निर्माण चाइना स्टेट कन्स्टक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रुपैयाँमा ठेक्का लिएको थियो ।

मन्त्री घिसिङले लिए सुरुङ मार्ग बारे जानाकारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आइतबार सुरुङ मार्गको प्रगतिका बारेमा जानाकारी लिएका छन् । सुरुङ मार्गको अवलोकन गर्दै उनले प्रगतिका बारेमा चासो राखेका हुन् ।

आयोजनाका प्रमुख नवराज वास्तोलाका अनुसार मन्त्री घिसिङले द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिएका छन् । सुरुङ माग निर्माणका क्रममा देखिएका समस्याहरू निर्माण कम्पनी तथा आयोजनाले मन्त्री समक्ष राखेका थिए । सुरुङ मार्गको तीनवटै बाईपासको ब्रेक थ्रु गत वर्ष नै भएको थियो ।  तेस्रो र पहिलोको ब्रेक थ्रु अघिल्लो वर्षको भदौ तथा असोजमा भएकोमा दोश्रो बाइपासको ब्रेक थ्रु गत वर्षको ७ पुसमा भएको थियो ।

यहाँ पहिलो बाइपासको लम्बाई १ सय ५१ मिटर, दोस्रोको १ सय ६१ र तेस्रोको १ सय ३० मिटर लम्बाइ रहेको छ ।

सिद्धार्थ राजमार्ग भएर साना–ठूला दैनिक हजारौं सवारी बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा,  बाग्लुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लाहरुमा ओहोर दोहोर गर्छन् ।

सम्बन्धित् समाचार