बुटवल — प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिसका लागि सहमति जुटाउन नसकेपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेशले क्षेत्र र जिल्लाबाट आएका नामहरू छनोट नगरी सबै केन्द्रीय समितिमा पठाएको छ ।
केन्द्रीय मापदण्डले तोकेभन्दा धेरै उम्मेदवारको नाम क्षेत्र र जिल्लाले पठाएपछि प्रदेशले त्यसलाई छलफलबाट निष्कर्षमा पुर्याउन नसकेको भन्दै सबै उम्मेदवारको सूचीसहित केन्द्रमा पठाएको हो ।
कांग्रेसले प्रतिनिधि सभाका लागि एक क्षेत्रबाट तीन जनाको नाम प्राथमिकता सूचीसहित सिफारिस गर्न निर्देशन गरेको थियो । यद्यपि प्रदेशले पार्टीमा योगदान गरेको र जित्नसक्ने सम्भावित उम्मेदवारको विषयमा छुट्टै रायसहित सिफारिस पठाएको छ । कांग्रेसले लुम्बिनीबाट प्रतिनिधि सभा सदस्यका लागि २६ र राष्ट्रिय सभाका लागि ३ गरी २९ जना उम्मेदवारका लागि २ सय ४३ जनाको नाम पठाएको छ । गुल्मीका २ क्षेत्रबाट २१ जना र रूपन्देही–५ बाट ३ जना गरी २४ जनाको नाम छुट्टै केन्द्रमा सिफारिस भएको छ ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले क्षेत्र र जिल्लाबाट सिफारिस भएर आएका ११ जिल्लाका उम्मेदवारको सूची केन्द्रमा पठाइएको बताए । उनका अनुसार गुल्मी जिल्लाले शनिबारसम्म पनि सिफारिस गर्न नसकेका कारण केन्द्रमै सिफारिस गर्ने गरी सिफारिस भएर आएका ११ जिल्लाका नामावलीको सूची प्रदेशले केन्द्रमा पठाएको हो ।
‘हामीले १२ मध्ये ११ जिल्लाबाट आएका प्रतिनिधि सभातर्फ १ सय ३९, राष्ट्रिय सभाका लागि १ सय ४ र समानुपातिकका लागि १ सय ८६ जनाको सूची केन्द्रीय समितिलाई सिफारिस गरेका छौं,’ उनले भने, ‘क्षेत्र र जिल्लाले नै मापदण्ड पूरा गरेर छनोट विधिको प्रयोग गर्न नसकेपछि प्रदेशले त्यसलाई काँटछाँट गर्ने अवस्था नै भएन, त्यसैले सबै उम्मेदवारको सूची बनाएर केन्द्रमा पठाइदिएका हौं ।’ यद्यपि महत्त्वपूर्ण योगदान गरेका र जित्न सक्ने सम्भावित उम्मेदवारको विषयमा छुट्टै राय पनि पठाइएको उनले बताए ।
लुम्बिनी प्रदेशमा प्रतिनिधि सभा तर्फ २६ क्षेत्र छन् । २६ जनाका लागि गुल्मीबाट बाहेक ११ जिल्लाबाट मात्र १ सय ३९ जनाको नाम सिफारिस भएको छ । गुल्मीबाट क्षेत्र नं. १ बाट ७ र २ बाट १४ जनाको नाम छुट्टै सिफारिस भएको छ । त्यस्तै राष्ट्रिय सभाका लागि ३ जना मात्र आवश्यक रहेकामा १ सय ४ जनाको नाम सिफारिस भएको छ । समानुपातिकमा भने १ सय ८६ जनाको नाम सिफारिस भएको हो । लुम्बिनी प्रदेशबाट बालकृष्ण खाँण, चन्द्र भण्डारी, देवेन्द्रराज कँडेल, किशोर सिंह राठौर, भरत शाह लगायत नेताको नाम सिफारिस भएको छ ।
कांग्रेसका अनुसार खाँणको रूपन्देही–३ बाट सिफारिस भएको छ । रूपन्देही–३ बाट खाँणसहित ६ जनाको नाम सिफारिस भएको हो । त्यस्तै कांग्रेस सहमहामन्त्री राठौरको बाँके–३ र बर्दिया–२ बाट सिफारिस भएको छ । बर्दिया–२ बाट राठौर र आरजु राणासहित ९ जनाको नाम सिफारिस भएको छ । पश्चिम नवलपरासी–२ बाट कांग्रेस नेता देवेन्द्रराज कँडेल र रूपन्देही–५ बाट भरत शाहको एकल नाम सिफारिस भएको छ । तर, शाहका विषयमा विवाद भएपछि रूपन्देही–५ बाट कांग्रेस क्षेत्रीय समितिले युवा नेता विष्णु पोखरेलसहित ३ जनाको नाम केन्द्रमा छुट्टै सिफारिस गरेको छ । त्यस्तै गुल्मी–१ बाट चन्द्र भण्डारीसहित ७ जनाको नाम सिफारिस भएको छ ।
कांग्रेस प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले केन्द्रले स्पष्ट तीन जनाको नाम सिफारिस गर्न मापदण्डसहित निर्देशन गरेको भए पनि जिल्लाहरूले त्यो मापदण्ड पूरा गर्न नसक्दा प्रदेशलाई पनि सिफारिसमा अप्ठ्यारो भएको बताए । ‘केन्द्रको मापदण्ड अनुसार क्षेत्रबाट आएका नाममा जिल्लाले केही स्क्रिनिङ गर्नु पर्थ्यो, तर त्यो हुन सकेको देखिएन,’ उनले भने, ‘जिल्लाले मापदण्ड नै नहेरी सिफारिस गरेपछि प्रदेशले त्यसलाई फेरि कसरी काँटछाँट गर्ने ? त्यसैले महत्त्वपूर्ण नेताहरूको विषयमा छुट्टै रायसहित जिल्लाबाट आएका सबैको नाम केन्द्रमा सिफारिस गरेका हौं ।’ क्षेत्र र जिल्लाबाट आएका नाम प्रदेशले छनोट गर्न सक्ने अवस्था पनि नरहेको उनले बताए ।








