गृहपृष्ठ Featured बार्सिलोनालाई पुनः चार अंकको अग्रता

बार्सिलोनालाई पुनः चार अंकको अग्रता

काठमाडौं ।

पहिलो हाफमै १० जनामा सीमित भएको भियारियालमाथि २–० को जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगामा रियाल मड्रिडविरुद्ध पुनः चार अंकको अग्रता बनाएको छ ।

आइतबार राति स्टाडियो डे ला सेरामिकामा पाहुना टिमलाई जित दिलाउन ब्राजिलियन फरवार्ड राफिन्हा र लामिन यमलले गोल गरे । बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि एक गोल थपेको हो ।

खेलको १२औँ मिनेटमा प्राप्त पेनाल्टीलाई राफिन्हाले सदुपयोग गरेपछि बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

रेनाटो भेइगाले ३९औँ मिनेटमा रातो कार्ड सामना गरेपछि भियारियाल आधाभन्दा बढी समय १० खेलाडीमा सीमित बनेको थियो ।

६३औँ मिनेटमा फ्रयांक डी योङको पासमा यमलले अर्को गोल थपेपछि बार्सिलोनाको जित पक्का भयो ।

यो जितसँगै शीर्ष स्थानको बार्सिलोनाले दोस्रोमा रहेको रियालसँगको अंक दूरीलाई एकबाट बढाएर पुनः चारमा पुर्‍याएको छ । अघिल्लो दिन रियालले सेभियामाथि २–० को जित हासिल गर्दै शीर्ष टोलीसँगको दूरी एक अंकमा झारेको थियो ।

१८ खेलको समाप्तिमा स्पेनिस ला लिगा अंकतालिकामा लिग लिडर बार्सिलोनाको ४६ अंक छ । रियालले ४२ अंक जोडेको छ ।

बार्सिलोनासँग पराजित भएपछि भियारियाल ३५ अंकका साथ चौथो स्थानमै सीमित भएको छ ।

आइतबारै भएको अर्को खेलमा रेलिगेसन क्षेत्रको जिरोनामाथि ३–० को जित हासिल गर्दै एट्लेटिको मड्रिड ३७ अंकका साथ तेस्रो स्थानमा उक्लियो ।

सम्बन्धित् समाचार