गृहपृष्ठ Featured गगन थापा भन्छन्- महाधिवेशनविना कांग्रेस चुनावमा जाँदैन

गगन थापा भन्छन्- महाधिवेशनविना कांग्रेस चुनावमा जाँदैन

७ पुस, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानलाई ट्रयाकमा फर्काउन २१ फागुनमा निर्वाचन गर्नु अनिवार्य रहेको बताएका छन् । उनले महाधिवेशनविना कांग्रेस चुनावमा नजाने पनि बताए ।

धुम्बाराही ब्यांकेटमा सोमबार काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा उनले पार्टीको महाधिवेशन गरेर २१ फागुनको निर्वाचनमा सहभागी हुने बताए ।

थापाले भने, ‘अधिवेशन विना नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन, जान सक्दैन, क्लियर यसमा ।’

उनले अहिले सार्वजनिक भएको वडा अधिवेशनको सन्दर्भमा केही दिन तलमाथि भए पनि अधिवेशन नरोकिने बताए । ‘जुन तिथिमा हामीले वडाको अधिवेशन भनेका छौं, त्यसमा एक–दुई दिन तलमाथि होला, थोरै तलमाथि होला,’ उनले भने, ‘कि नियमित अधिवेशन सरासर अगाडि बढ्छ कि विशेष महाधिवेशन हुन्छ । त्योभन्दा अर्को कुरा केही पनि छैन । अधिवेशन हुन्छ ।’

उनले अधिवेशनपछि पार्टी चुनावमा जाने बताए । चुनाव फागुन २१ मै हुनुपर्नेमा उनले जोड दिए । ‘पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नुपर्छ कि फागुन २१ गते चुनाव गर्ने कुरा अनिवार्य छ,’ महामन्त्री थापाले भने, ‘फागुन २१ गते चुनाव हुने कुरा किन आवश्यक छ भने संविधान ट्रयाकभन्दा बाहिर गएको छ, संविधानलाई ट्रयाकमा फर्काउनका निम्ति फागुन २१ गते निर्वाचन गर्ने ।’

निर्वाचनबाट चुनिएर आउने संसद्ले विस्तारै संविधानअनुसार कामहरू अघि बढाउने उनको भनाइ थियो । ‘निर्वाचनले नयाँ संसद् ल्याउँछ । अनि त्यो संसद्ले विस्तारै आफ्नो काम गर्ने,’ महामन्त्री थापाले भने ।

२१ फागुनका लागि तय भएको निर्वाचन कांग्रेसका लागि अनुकूल–प्रतिकूल जेसुकै भए पनि चुनावमा जानुपर्नेमा महामन्त्री थापको जोड थियो ।

‘चुनावको परिणाम के होला, हाम्रा लागि कति अनुकूल होला, कति प्रतिकूल होला, त्यो हाम्रो आन्तरिक विषय हो,’ उनले भने, ‘हामी छलफल गरौंला, त्यसलाई अनुकूल बनाउने कोसिस गरौंला, थप मेहनत गरौंला, आफ्ना कुरा भनौंला ।’

महामन्त्री थापाले चुनाव नभए देश ठूलो अनिश्चितातर्फ जाने पनि जिकिर गरे ।

सम्बन्धित् समाचार