काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । सोमबार (पुस ७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यो घोषणा गरेका हुन् ।
महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभई पार्टीलाई नयाँ बनाउने समय भएको उनले उल्लेख गरे । महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि उनले बताए ।
जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको तर महाधिवेशन निर्वाचनअघि हुनैपर्नेमा उनले जोड दिए ।
गगन थापाको भनाइ पढ्नोस्–
अहिले तलबाट क्रियाशील सदस्यको कामहरू हुँदै गर्दा ठाउँठाउँबाट क्रियाशील सदस्य पठाइदिनुपर्ने कुराहरू जसरी भइराख्नुपर्ने हो, आइरहेको छैन । तर, म कसैलाई दोष दिन्नँ । किनभने, अझै गर्न सक्छु भन्ने विश्वास छ । लागिरहेको छौँ । पत्रपत्रिकाहरू हेर्दा अब यो भ्याइँदैन, गर्न सकिँदैन, पहिला राम्रो बाटोमा पानी लगेर खन्याएर अब बाटो हिलो छ, हिँड्न सकिँदैन भनेको जस्तै हो । मजाले बाटो ठिक थियो । समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो । तर, कताकता अलिअलि त्यो स्मेल गरिरहेका छौँ । यो विषयमा पार्टीको लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ । हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ । म अहिले पार्टीको सभापतिको १५औँ महाधिवेशनको सभापतिको उमेदवार हो । म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु । अधिवेशन नेतृत्व नयाँ आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने समय पनि हो । न्युज एजेन्सी नेपाल








