अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताएकी छन्।
बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको पनि बताइन्।
उनले भनिन्, ‘नेपालमा शिक्षामा लगानी गर्नुपर्ने आवश्यकता छ। सँगै यस क्षेत्रमा सुन्ने गरिएको दलीय राजनीतिकरणको अवस्थालाई अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक छ। शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको छ। प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता वोध भएको छ। यसबारेमा परामर्श र गृहकार्य भइरहेको छ।’








