गृहपृष्ठ Featured सुदन गुरूङले दिए जाँचबुझ आयोगमा बयान

सुदन गुरूङले दिए जाँचबुझ आयोगमा बयान

भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको ‍जाँचबुझ आयोगले हामी नेपालका संस्थापक सुदन गुरूङसँग बयान लिएको छ।

आइतबार आयोगको कार्यालयमा उपस्थित भएर उनले बयान दिइरहेका छन्। बयान अहिले पनि जारी रहेको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।

‘२/३ घण्टादेखि बयान लिने काम भइरहेको छ, उहाँले यति धेरै कागजात लिएर आउनु भएको छ। हामी हेर्दैछौं,’ उनले भने।

सुदन गुरूङले पनि सामाजिक सञ्जालमा आफू हामी नेपालीसँग आवद्ध आर्थिक कारोबार सम्बन्धी हालसम्मका सम्पूर्ण कागजातसहित उपस्थित भएको लेखेका छन्।

आफूमाथि लगाइएका आरोपको सत्यतथ्य प्रमाणका आधारमा स्पष्ट पार्ने उद्देश्यले आफू स्वयं छानबिन प्रक्रियामा अगाडि बढेको गुरूङले बताएका छन्।

आयोगसमक्ष उनले आर्थिक कारोबारसँग सम्बन्धित आवश्यक कागजात प्रस्तुत गर्दै आरोप निराधार रहेको दाबी गरेका छन्।

‘सत्य कहिल्यै डराउँदैन। छानबिनमार्फत सत्य उजागर हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु,’ गुरूङले भने, ‘आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेको छु।’

गुरूङले निष्पक्ष र पारदर्शी छानबिनबाट वास्तविकता बाहिर आउने विश्वास व्यक्त गर्दै आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

छानबिन आयोगले प्रस्तुत कागजात र बयानको अध्ययनपछि थप प्रक्रिया अघि बढाउने जनाएको छ।

सम्बन्धित् समाचार