१३ पुस, बुटवल ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
लुम्बिनीमा आयोजित आइतबार आयोजित एक छलफलमा सरोकारवालाहरूले यस्तो जोड दिएका हुन् ।
लुम्बिनीको गुरुयोजनामै यो ठाउँलाई पवित्र उद्यान (बगैंचा) का रूपमा परिभाषित गरिए पनि त्यस अनुसार हुन नसक्नु विडम्वना भएको सरोकारवालाहरूले औंल्याएका छन् ।
गुरुयोजनामा उल्लेख पवित्र उद्यानको मूल मर्म लुम्बिनीलाई अन्य पर्यटन नभई आध्यात्मिक पर्यटन केन्द्र बनाउने रहेको लुम्बिनीका अगुवा होटल व्यवसायी लिलामणि शर्माले बताए ।
उनले लुम्बिनीलाई विश्वभरिका एक अर्ब बौद्धमार्गीको आकर्षणको केन्द्र बनाउन सरकारले विशेष योजना र नीति बनाउनुपर्ने बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले सरकार र लुम्बिनी विकास कोषको ध्यान र लगानी कोषको चार पर्खाल बाहिर हुन नसकेको गुनासो गरिन् ।
पुरातात्विक स्थल उत्खनन्मा मात्र राज्यको लगानी भएको औंल्याउँदै उनले संघीय र प्रदेश सरकारले लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिनुपर्ने आग्रह गरिन् ।
उनले लुम्बिनीमा बर्थिङ हस्पिटल बनाउन विदेशी लगानी भित्राउने प्रकृया अघि बढेको बताइन् । फोहोरको दिगो व्यवस्थापन प्रक्रिया अघि बढेकाले अब विदेशी लगानी भित्रिन सहज भएको हरिजनले बताइन् । उनले नगरपालिकाले आफ्नै बजेटमा ध्यान केन्द्र बनाएको र पर्यटन सूचना केन्द्र स्थापना गरेको बताइन् ।