गृहपृष्ठ Featured बाँकेका २ बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझै फरार

बाँकेका २ बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझै फरार

नेपालगन्ज, पुस १८ गते ।

बाँकेको दुईवटा बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझै अझै पनि पक्राउ पर्न सकेका छैनन् ।

जेनजी आन्दोलनको बेला गत भदौ २४ गते बाँकेको नौबस्ता बाल सुधारगृह र डुडुवास्थित जयन्दु बालसुधार गृहबाट भागेका मध्ये ९६ जना बालबन्दी अझै पनि परार रहेका छन् ।

ती दुबै बालसुधार गृहबाट भागेका १९३ जना बालबन्दी मध्ये हालसम्म ९७ जना पक्राउ परेका छन् भने ९६ जना अझै सम्पर्कविहीन अवस्थामा रहेको दुबै बालसुधार गृह प्रशासनले जनाएको छ ।

नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले भदौ २४ गते सुरक्षाकर्मीसँग भिडन्त गरेर भागेका ७८ बालबन्दीमध्ये ३९ जनालाई पक्राउ गरिएको छ भने ३९ जना अझैपनि फरार नै रहेको बताउनुभयो ।

उहाँले उनीहरूको खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको जनाउँदै भागेका मध्ये अधिकांश भारत छिरेको आशंका गरिएको बताउनुभयो ।

सोही प्रकारले भदौ २४ गतेनै जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका ११५ जना बालबन्दीमध्ये ५८ जना पक्राउ परेका छन् भने ५७ जना अझै परार रहेका छन् ।

जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माले भागेका मध्ये केहीलाई पक्राउ गरिएको, केहीलाई अभिभावकले ल्याएको र केहीले आफैँ आत्मसमर्पण गरेको जानकारी दिनुभयो ।

उहाँले सो सुधारगृहका ५७ जना बालबन्दी अझै पनि फरार रहेका र उनीहरूको खोजी भइरहेको बताउनुभयो ।उहाँले पनि भागेका मध्ये अधिकांश भारत छिरेको आशङ्का गरिएकोले खोज तलासमा समस्या भइरहेको बताउनुभयो ।

फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा सरकारले दिएको थियो ।

सम्बन्धित् समाचार