गृहपृष्ठ Featured बुद्धभूमिका प्रमुख प्रशासकीय अधिकृत भट्टराईको विदाई

बुद्धभूमिका प्रमुख प्रशासकीय अधिकृत भट्टराईको विदाई

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाबाट हालै खानेपानी मन्त्रालयमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराईको विदाई गरिएको छ । आइतबार नगरपालिकाले आयोजना गरेको ‘फेरी भेटौंला’ कार्यक्रममार्फत १० महिनादेखि बुद्धभूमि नगरपालिकामा कार्यरत भट्टराईलाई सम्मान तथा मायाको चिनोसहित विदाई गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख केशवकुमार श्रेष्ठले छोटो अवधिमा नै भट्टराईले नगरपालिकाको प्रशासनिक सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । उहाँले कर्मचारी र जनप्रतिनिधिबीच सहकार्य, समन्वय र उत्तरदायित्व बढाउन भट्टराईको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

“उहाँको कार्यशैली, अनुशासन र समन्वय क्षमताले नगरपालिकामा सुशासन प्रवद्र्धनमा ठूलो सहयोग पुगेको छ,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो। साथै, प्रमुख प्रशासकीय अधिकृतहरू लामो समयसम्म स्थानीय तहमा स्थिर रहन नसक्दा विकास निर्माण तथा सेवा प्रवाहमा अवरोध आउने गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा उपप्रमुख मिरा थारुले भट्टराईको कार्यकालमा जनमुखी सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको बताउँदै प्रशंसा गर्नुभयो ।

विदाई हुँदै गरेका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराईले बुद्धभूमि नगरपालिकामा काम गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो।

यहाँ काम गर्ने क्रममा धेरै सिकाइ हासिल भएको उल्लेख गर्दै उहाँले नगरप्रमुख, उपप्रमुख, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहयोगका कारण कार्यसम्पादन सहज भएको स्मरण गर्नुभयो । “बुद्धभूमिमा बिताएको समय मेरो लागि सधैं स्मरणीय रहनेछ। नगरको विकास र सुशासनका लागि सबैले निरन्तर सकारात्मक पहल गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,” उहाँले भन्नुभयो ।

कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोम बहादुर थापाले कार्यसम्पादनका क्रममा आइपरेका समस्या तथा चुनौतीहरूमा भट्टराईले उचित समाधान सुझाउँदै निकास दिने भूमिका खेलेको स्मरण गर्नुभयो ।

विदाई कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

भट्टराई सुरुवा भएसंगै सोमबार अब यस नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा यमकान्त पाण्डे आउँदै छन् ।

सम्बन्धित् समाचार