बुटवल ।
नेकपा (एमाले) का नेता तथा पूर्वसांसद बासुदेव घिमिरेले पार्टीबाट अलग हुने निर्णय फिर्ता लिँदै पुनः पार्टीभित्रै रहेर राजनीतिक गतिविधि जारी राख्ने बताएका छन् ।
उनले फेसबुकमा एक पोस्ट गर्दै आफ्नो पछिल्लो राजनीतिक निर्णय र त्यसपछि आएको कार्यकर्ता तथा शुभेच्छुकहरूको भावनालाई सम्मान गर्दै निर्णय सच्याएको उल्लेख गरेका छन् ।
घिमिरेले जारी गरेको स्पष्टीकरणमा राजनीति पद प्राप्तिको मात्र विषय नभई विचार, मूल्य र जनभावनाको प्रतिनिधित्व गर्ने माध्यम भएको उल्लेख गरेका छन् । युवा संघहुँदै ४ दशकभन्दा बढी पार्टीमा सक्रिय भएको बताएका घिमिरेले तिलोत्तमा नगरपालिकाको मेयर र रुपन्देही- ५ को सांसदको रूपमा आफूले सधैँ जनताको सेवा र पार्टी सुदृढीकरणलाई प्राथमिकता दिएको उल्लेख गरेका छन् ।
पार्टीभित्र समयानुकुल रूपान्तरण नहुनु, नयाँ पुस्ता र ‘जेनजी’ का सोचलाई पर्याप्त आत्मसाथ नगर्दा आफू असन्तुष्ट भएको उनले उल्लेख गरेका छन् । त्यही ‘उकुसमुकुस’का कारण आवेगमा आएर पार्टीबाट अलग हुने निर्णय लिएको उनले बताएका छन् । त्यो कुनै पद वा सौदाबाजीका लागि नभएको पनि प्रस्टीकरण दिएका छन् ।
तर, कार्यकर्ता, शुभेच्छुक र नेताहरूबाट आएको प्रतिक्रिया र दबाबले गम्भीर रूपमा सोच्न बाध्य बनाएको घिमिरेको भनाइ छ । “घर छोडेर समाधान निस्कँदैन, पार्टीभित्रै बसेर रूपान्तरण गरौँ” भन्ने कार्यकर्ताहरूको आग्रहलाई नकार्न नसकेको भन्दै उनले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित कार्यकर्ताहरूको सुझावले आफूलाई भावुक बनाएको बताएका छन् ।
घिमिरेले आफू कुनै अवसरवादी वा पदलोभी नभएको दाबी गरेका छन् । आफ्नो विद्रोह विचार र पुस्तान्तरणका लागि मात्र भएको दाबी गरेका छन् । उनले अब पार्टीभित्रै रहेर युवा नेतृत्व हस्तान्तरण, पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउने अभियानमा सक्रिय रहने बताएका छन् ।
“म एमालेमै रहन्छु, मन, वचन र कर्मले रहन्छु,” भन्दै घिमिरेले पार्टीले दिने जुनसुकै जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यकर्ताको शिर नझुक्ने गरी काम गर्ने र पार्टीलाई मुलुकको निर्णायक शक्ति बनाउने अभियानमा मिलेर अघि बढ्ने उनको भनाइ छ ।








