वैखरी अनलाईन, बाणगंगा ।
नेपालमै पहिलो पटक बाणगंगा नगरपालिकाले सुरु गरेको स्वर्णबिन्दु प्राशन कार्यक्रम बालबालिकाको स्वास्थ्य प्रवद्र्धनमा प्रभावकारी देखिएसँगै देशका अन्य स्थानीय तहका लागि पनि उदाहरण बन्दै गएको छ । नगरपालिकाको पहलमा सञ्चालन भएको यस कार्यक्रमबाट हालसम्म हजारौं बालबालिका लाभान्वित भएका छन् ।

परम्परागत आयुर्वेदिक विधिमा आधारित स्वर्ण प्राशन कार्यक्रम बालबालिकाको शारीरिक, मानसिक तथा रोग प्रतिरोधात्मक क्षमताको विकासमा महत्वपूर्ण मानिन्छ । आयुर्वेदको प्राचीन ग्रन्थ काश्यप संहितामा उल्लेखित विधिअनुसार तयार गरिएको स्वर्ण भष्म, ब्राह्मी घृत र महको मिश्रण बालबालिकालाई थोपाको रूपमा सेवन गराइँदै आएको छ ।
बाणगंगामा यस कार्यक्रम सुरुवातको पहिलो दिनमै अपेक्षाभन्दा बढी सहभागिता देखिएको थियो । यस कार्यक्रममा हालसम्म सात पटक सेवन गराउँदा कुल ८ हजार १८ जना बालबालिकाले सेवा लिएका छन् ।

नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगाको पहलले राष्ट्रिय स्तरमै सकारात्मक सन्देश दिएको बताउनुभएको छ । उहाँले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन लगानी गर्ने उद्देश्यले सुरु गरिएको स्वर्ण प्राशन कार्यक्रमबाट उत्साहजनक नतिजा देखिएको बताउनुभयो । यसले प्रतिरक्षा प्रणाली मजबुत बनाउनुका साथै बौद्धिक विकासमा पनि सहयोग पु¥याउने बताउँदै उहाँले बाणगंगाको सफल अभ्यासलाई देशका अन्य पालिकाले पनि सिको गरेर बालस्वास्थ्यमा लगानी बढाउने कदम सकारात्मक रहेको बताउनुभयो ।

उपप्रमुख रीता कुमारी चौधरीले कार्यक्रमप्रति अभिभावकहरूको बढ्दो विश्वास रहेको बताउँदै अभिभावकहरूको सक्रिय सहभागिता र विश्वासले कार्यक्रमलाई अझ सफल बनाएको जिकिर गर्नुभयो । आयुर्वेदको प्राचीन ज्ञानलाई आधुनिक व्यवस्थापनसँग जोडेर बालबालिकाको स्वास्थ्य सुधारमा काम गर्न पाउँदा नगरपालिकालाई गर्व लागेको उहाँको भनाई छ ।

प्रदेश तथा संघीय सरकारको समेत ध्यान आकर्षित गरिसकेको स्वर्ण प्राशन कार्यक्रम लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विस्तार गर्ने तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वर्ण प्राशन निर्देशिका–२०८२ स्वीकृत भई देशभर २५ जिल्लामा प्रारम्भिक चरणमा कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाइएको छ ।
प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन बिहान खाली पेटमा खुवाइने स्वर्ण प्राशन ज्वरो, झाडापखाला, रुघाखोकी लगायत समस्या भएका बालबालिकालाई भने सेवन गराइँदैन । चालु आर्थिक वर्ष २०८२/८३ मा बाणगंगा नगरपालिकाको आयुर्वेद शाखाले १४ पटक सेवन गराउने तालिका तय गरेको छ ।
बाणगंगा नगरपालिकाले सुरु गरेको स्वर्ण प्राशन कार्यक्रमले स्थानीय तहको सक्रियताले पनि राष्ट्रिय स्वास्थ्य अभियानमा योगदान दिन सकिने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ । यही सफल अभ्यासको सिको गर्दै देशका थप अन्य पालिकाले समेत बालस्वास्थ्य प्रवद्र्धनका यस्ता कार्यक्रम अघि बढाउने तयारी गरेका छन् ।








