गृहपृष्ठ Featured देउराली घाटमा युवाको अभियानः बैरिया युवा समाजद्वारा सरसफाई

देउराली घाटमा युवाको अभियानः बैरिया युवा समाजद्वारा सरसफाई

बाणगंगा।

बाणगंगा नगरपालिका–१ स्थित देउराली घाटमा बैरिया युवा समाजको सक्रियतामा सरसफाइ अभियान सञ्चालन गरिएको छ। लामो समयदेखि विभिन्न सामाजिक क्रियाकलापमा क्रियाशील रहँदै आएको बैरिया युवा समाजले यस अभियानमार्फत नागरिकमा सामाजिक उत्तरदायित्व र चेतनाको स्तरलाई थप जागृत बनाएको सहभागीहरूले बताएका छन्।

बाणगंगा नगरभित्र मृत्यु पश्चात् अन्तिम संस्कारका लागि उत्तरी भेगमा अवस्थित देउराली घाट ९बाणगङ्गा नदी० प्रयोग गरिँदै आएको छ। सोही घाट क्षेत्रको सरसफाइका लागि बैरिया युवा समाजको नेतृत्वमा आज संस्थाका पदाधिकारी, सल्लाहकार, सदस्य, स्थानीय नागरिक तथा मनकामना सामुदायिक वनका अध्यक्ष मुक्तबहादुर कार्कीसहितको उपस्थितिमा करिब ४०० मिटर क्षेत्रफलमा फैलिएको झाडी सफाइ गरिएको हो।

सरसफाइका क्रममा नदी किनारमा दाहसंस्कारपछि यत्रतत्र छरिएका दाउरा, ठुटा तथा अन्य फोहोर सामग्रीलाई एकीकृत गरी नदीकै बगरमा व्यवस्थापन गरी जलाइएको युवा समाजले जनाएको छ।

अभियानलाई निरन्तरता दिन सबैको साझा प्रयास आवश्यक रहेको बताउँदै संस्थाका संस्थापक अध्यक्ष विष्णु प्रसाद घिमिरेले यस क्षेत्रका सम्पूर्ण नागरिकलाई सरसफाइमा सहयोग गर्न आग्रह गर्नुभएको छ। साथै आगामी दिनमा घाट प्रवेश गर्ने खाली जग्गामा विभिन्न फलफूलका बिरुवा रोप्ने योजना रहेको संस्थाका उपाध्यक्ष सुरेश केसीले जानकारी दिनुभयो।

त्यस्तै, संस्कारका लागि घाटमा आउने नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था नभएको विषयमा संस्थाका संस्थापक उपाध्यक्ष तोलाराज पन्थ (राजु) ले चिन्ता व्यक्त गर्नुभएको छ।

उक्त समस्याका समाधानका लागि स्थानीय सामाजिक तथा युवा व्यवसायी मनोज पौडेल र शंकर भाट क्षेत्रीले नेपाल किसान ट्र्याक्टर संघका अध्यक्ष झबिन्द्र खनालसँग शुद्ध खानेपानीको व्यवस्थापनका लागि आग्रह गर्नुभएको छ। सो अवसरमा अध्यक्ष खनालले पुण्य कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

आगामी दिनमा बाणगंगा नगरपालिका–१ लाई पूर्ण सरसफाइ वडा घोषणा गर्ने लक्ष्यसहित टोल विकास संस्था, आमा समूह, स्वास्थ्य स्वयंसेविका, खानेपानी तथा स्वास्थ्य सेवा केन्द्रलगायत सबै संघ–संस्थाको सहकार्यमा युवा समाजकै अगुवाइमा अभियान अघि बढाइने योजना रहेको उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समिति सदस्य बुद्धिसागर बेल्बासेले जानकारी दिनुभयो।

सबैले आ–आफ्नो क्षेत्रबाट यस्तै सकारात्मक पहल गरे वातावरण संरक्षणसहित समग्र विकासमा स्वतःस्फूर्त टेवा पुग्ने सहभागी युवाहरूको धारणा रहेको थियो। कार्यक्रममा बैरिया युवा समाजका अध्यक्ष महेश पन्थले अभियानमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संक्षिप्त सञ्चालन संस्थाका सचिव सागर घिमिरेले गर्नुभएको थियो।

सम्बन्धित् समाचार