गृहपृष्ठ Featured मायादेवी साझेदारी वनमा चितुवा डमरुसहित देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह

मायादेवी साझेदारी वनमा चितुवा डमरुसहित देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह

बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–१० पटना क्षेत्रमा अवस्थित मायादेवी साझेदारी वनमा चितुवा डमरुसहित देखिएपछि वन क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाणगंगा नगरपालिका–१० र ११ को सिमानामा पर्ने घगवा खोलानजिक चितुवा ३–४ वटा डमरुसहित देखिएको जानकारी मायादेवी साझेदारी वनका अध्यक्ष दिनेश जयसवालले दिएका छन्।

अध्यक्ष जयसवालका अनुसार आफू, वन कर्मचारी तथा हेरालुले चितुवा डमरुसहित देखेका हुन्। पछिल्लो समय वन क्षेत्रमा वन्यजन्तुको आवतजावत बढ्दै गएको उनले बताए। चितुवासँगै सो वन क्षेत्रमा अजिङ्गर, निलगाई र बदेललगायतका वन्यजन्तु पनि पाइने गरेको उनको भनाइ छ।

वन क्षेत्रमा वन्यजन्तुको उपस्थिति बढ्नु जैविक विविधता समृद्ध रहेको संकेत भए पनि यसले मानव–वन्यजन्तु द्वन्द्वको जोखिम बढाउन सक्ने भन्दै सतर्कता आवश्यक रहेको जयसवालले बताए। यसै सन्दर्भमा वन समितिले सर्वसाधारणलाई वन क्षेत्रमा प्रवेश गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

बाणगंगा नगरपालिका वडा नं. १०, ११ र २ मा फैलिएको मायादेवी साझेदारी वन अर्घाखाँची जिल्लाको सीमासम्म विस्तार भएको छ। वन समितिले स्थानीय बासिन्दा, घाँसदाउरा तथा वन पैदावार संकलन गर्न जाने व्यक्तिहरूलाई समूहमा हिँड्न, बालबालिकालाई एक्लै नपठाउन तथा अनावश्यक रूपमा वनमा प्रवेश नगर्न अनुरोध गरेको छ।

वन्यजन्तु संरक्षण र मानव सुरक्षालाई मध्यनजर गर्दै सम्बन्धित निकायसँग समन्वय गरी निगरानी थप प्रभावकारी बनाइने समेत मायादेवी साझेदारी वन समितिले जनाएको छ।

सम्बन्धित् समाचार