अल नासरले साउदी प्रो लिगमा शनिबार अल शबाबविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।
अल अवाल पार्कमा घरेलु टोली नासरलाई जित दिलाउन किंग्सले कोम्यान र अब्दुलरहमान घरिबले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भयो । शबाबका लागि कार्लोसले गोल गर्दा १ गोल आत्मघाती उपहारस्वरूप प्राप्त भयो ।
खेलको दोस्रो मिनेटमै शबाबका रक्षक साद यास्लमबाट आत्मघाती गोल हुनपुग्दा नासरले अग्रता लिएको थियो । ६ मिनेटपछि नै कोम्यानले टोलीको अग्रता दोब्बर बनाए ।
नासरका रक्षक मोहम्मद सिमाकनबाट आत्मघाती गोल हुन पुग्दा ३१औँ मिनेटमा खेल २–१ को स्थितिमा आयो । ५३औँ मिनेटमा कार्लोसले शबाबलाई २–२ को बराबरीमा ल्याए ।
मिडफिल्डर भिन्सेन्ट सिएरोले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छोडेपछि ६७औँ मिनेटमा शबाब १० खेलाडीमा समेटिएको थियो । ७६औँ मिनेटमा घरिबले गोल गर्दै नासरलाई ३–२ को रोमाञ्चक जित दिलाए ।
जितसँगै १५ खेलमा ३४अंक जोडेको नासर दोस्रो स्थानमा उक्लिएको छ । पराजित शबाब समान खेलबाट ११ अंकका साथ १४औँ स्थानमा छ ।









